२०८१ बैशाख १८, मंगलबार    

संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनसायबाट मुक्त हुनुस् : अध्यक्ष तिमिल्सिना

२०७९ भाद्र २०, सोमबार १५:५७ बजे

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागे पनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् । सोमबार वाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताए ।वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने हालै पारित भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरीत भएको भन्दै सो विधेयक किन पारित गरियो ? भन्दै प्रश्न सोधेका थिए ।

पाण्डेले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई लक्षित गर्दै संघीय सरकारविरुद्ध आफूहरूले मुद्दा हाल्ने पनि चेतावनी दिएका थिए । राष्ट्रिय सभा आफैंले संविधान र संघीयताको विरुद्धमा गएर विधेयकहरू पारित गरेकोमा उनले आपत्ति जनाएका छन् ।

पाण्डेको उक्त प्रश्नको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारले ल्याएका कुनै पनि विधेयक फेल भएमा सरकार नरहने चिन्ताले सबै विधेयकमा सांसदहरू पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताएका थिए ।

उनले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि बताएका थिए ।‘मुख्यमन्त्रीजीले ऐन नै देखाएर भन्नुभयो, ऐन निर्माणको हिसाबले संघीय सरकार, संघीय संसदले सब संघीयताको पक्षधर लिने सबै काम सतप्रतिशत ठीक गरेको छ भन्ने होइन । हामीले गरेका प्रत्येक आलोचना गर्दा त्यहाँ कुनै अफ्ठ्यारो मान्नुपर्ने विषय नै छैन । दुःख मनाउ गर्नुपर्ने विषय छैन । तर यहाँ विधि निर्माण गर्न त जानुहुन्छ । हिजोको संसदमा हुनुहुन्थ्यो प्रतिनिधिसभामा । संविधान सभामा हुनुहुन्थ्यो, यहाँ पनि अहिले मुख्यमन्त्री हुनुहुन्छ । तपाईँहरूका प्रदेश सभाका माननीयहरूले कतिपय कुरा चित्त नबुझेर सदनमा पहिला बोल्नुहुन्छ, हात उठाउँदा कता बोल्नुभएको छ ?' अध्यक्ष तिमिल्सिनाले सोधेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सिनाले नेताहरूले संघीयता बलियो बनाउने विषयका मुद्दामा पनि पार्टीको ह्वीप स्वीकार गर्ने गरेको प्रसंग निकाल्दै यथार्थपरक बन्नुपर्ने संकेत गरेका थिए । यस्तै सदनमा आफ्ना कुरा राख्ने गरे पनि पार्टीको ह्वीप लागेपछि मौन बसेको भन्दै त्यस्तो व्यवहारप्रति उनले आपत्ति जनाएका थिए ।

तिमिल्सिनाले भने, 'तपाईँलाई अलिकति अफ्ठ्यारो परोस्, गठबन्धन खत्तम हुने हो भने तपाईँ गर्नुहुन्छ कि गर्नुहुन्न ? मलाई यो भन्नुहोस् । त्यही कारणले हो, हामी एक जनाको कमजोरीले होइन । दलको आदेश आउँछ, बिल फेल भयो भने सरकार गिर्छ, हाम्रो परम्परा यस्तो छ । सरकारले ल्याएको बिल फेल हुनुभन्दा सरकार बँचोस् संघीयता जेसुकै होस् भनेर हात ठड्याउने हो । यो जहाँको पनि व्यवहार त त्यही हो नि । यसलाई किन लुकाउने ? हालै नागरिकता ऐन आयो, नागरिकता ऐनको बारेमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा विभिन्न ढंगले बोल्नुभयो । बोल्ने बेलामा दरो ढंगले बोल्नुभयो, अहिलेका कुराहरू ठीक छैनन् भनेर तर भोटिङ गर्ने बेलामा टाप ठोक्नुभयो किन ? बोले अनुसार हात उठाउन सक्नुभएन, हात उठाए विरोधमा जाने भयो, कारबाही हुन्छ, लुसुक्क बाहिर जानुभयो ।'