२०८१ बैशाख १४, शुक्रबार    

मकवानपुरमा कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु

२०७९ जेठ ११, बुधबार १८:०३ बजे

मकवानपुर जिल्लाको स्थानीय तहमा कार्यपालिका सदस्य चयन प्रक्रिया धमाधम सुरु भएको छ ।

जिल्लामा रहेको दशवटा स्थानीय तहले आन्तरिक निर्वाचन प्रक्रियाबाट कार्यापालिका गठन प्रक्रिया सुरु गरेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले भने कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया टुंग्याइसकेको छ । कार्यपालिका निर्वाचनका लागि पालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ । कार्यपालिका सदस्य निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउने छ ।

जिल्लाको सवै स्थानीय तहमा मत गणनाको परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मकवानपुरका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गराउने छन् ।

निर्वाचन तालिका अनुसार हेटौंडा उपमहानगरपालिकामा कार्यपालिका सदस्य चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । बकैया गाउँपालिकामा कार्यपालिका सदस्य पदका लागि १३ गते मतदान हुने भएको छ । कैलाशमा कार्यपालिका सदस्यको चयनको बुधबार उम्मेदवार दर्ता भएको छ । कैलाश गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द हरि पौड्यालका अनुसार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको १४ गते नामावली प्रकाशन हुने र १७ गते मतदान हुने भएको छ । मकवानपुरको वाग्मती गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि १४ गते मतदाताको नामावली प्रकाशन हुने छ । १५ गते मनोनयन दर्ता हुने र १७ गते मतदान हुनेछ ।

राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचन १५ गते हुने भएको छ । मतदान विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने निर्वाचन अधिकृत गोपालप्रसाद कँडेलले जानकारी दिए ।

कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्यमध्येबाट तथा सीमान्तकृत–अल्पसंख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।