२०८१ बैशाख ७, शुक्रबार    

विश्वासको मतको विषयमा कांग्रेसभित्र विवाद

२०७९ चैत्र ८, बुधबार ११:३६ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकमराम जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली कांग्रेसभित्र विवाद सिर्जना भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले बुधबार सदनबाट विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसभित्र विवाद सिर्जना भएको हो । कांग्रेस संसदीय दललाई कांग्रेस प्रदेश समितिले जम्कट्टेलको पक्षमा विश्वासको मत दिन निर्देशन दिए पनि दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेशसभाको आज बस्ने बैठक अन्यौलमा परेको छ ।

मंगलबार बसेको कांग्रेस प्रदेश समितिअन्तर्गत कार्यसम्पादन समितिले जम्कट्टेललाई विश्वासको मत दिन संसदीय समितिलाई निर्देशन दिएको थियो । बैठकमा दलका नेता लामासमेत सहभागी थिए । उक्त निर्देशनलाई बेवास्ता गर्दै कांग्रेसले प्रदेशसभा केही दिन सार्ने तयारीका साथ संसदीय समितिको बैठक आज ११ बजेका लागि बोलाइएको छ । कांग्रेसले काठमाडौंस्थित स्मार्ट दरबार, शंखपार्क संसदीय दलको बैठक राखेको छ ।

दलको नेतामा पराजित भएका ईन्द्रबहादुर बानियाँ पार्टी प्रदेश सभापति भएका कारण आफूलाई मुख्यमन्त्री बन्नबाट रोक्ने उद्देश्यका साथ जम्कट्टेललाई विश्वासको मत दिन निर्देशन दिएको बुझाइ लामाको छ । दलको नेताको निर्वाचनपश्चात सुरु भएको कांग्रेसभित्रको आन्तरिक विवाद क्रमशः सदनमा समेत देखिन थालेको हो ।

‘हामीले प्रदेश सरकारको नेतृत्वमा समेत दाबी गरिरहेका छौं । केन्द्रबाट मुख्यमन्त्रीको विषयमा हामीलाई कुनै निर्देशन आएको छैन,’ कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले भने । उनले सरकारलाई विश्वासको मत दिन कुनै समस्या नभए पनि ठूलो दल भएको आधारमा मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक भएको बताए । उनले पार्टी प्रदेश समितिले दिएको निर्देशन र संसदीय समितिले गर्ने निर्णयबाट कांग्रेस निष्कर्षमा पुग्ने बताए ।

कांग्रेसभित्र बानियाँ पक्षका सांसदले भने दलको नेताले दोहोरो चरित्र देखाएको आरोप लगाइरहेका छन् । उनीहरूले पार्टीको बैठकमा सहभागी भएर गरेको निर्णय लागू गर्नुको सट्टा गठबन्धनभित्रै मनमुटाव गर्ने अवस्था सिर्जना दलको नेताबाट भएको बताएका छन् । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने वचन उहाँ (दल नेता) ले दिइसक्नुभएको छ । अहिले फेरि मुख्यमन्त्री इच्छा पलाएपछि यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भने ।

कांग्रेसले प्रदेशसभाको बैठक २ दिन सार्नु उपयुक्त हुने बताएको छ । चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता सरकारसँग रहेको छ । मुख्यमन्त्रीले कांग्रेसबाट प्रदेश सरकारमा ५ जनालाई मन्त्रिपरिषद्‌मा सहभागी गराउने प्रतिबद्धता जनाए पनि एकजना थप गर्न कांग्रेस नेतृत्वले दबाब दिइरहेको बुझिएको छ । बुधबार नै विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रहेका छन् । उनले कांग्रेसलाई आजै बैठक राख्ने तयारी भइरहेको र मतदानमा सहभागी हुन आग्रह गरिसकेका छन् ।