२०८१ बैशाख ७, शुक्रबार    

९ नम्बर वडा कार्यालय भवनको शिलान्यास

२०८० बैशाख ५, मंगलबार १७:३७ बजे

भवन अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमा निर्माण हुने नयाँ भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले मंगलबार शिलान्यास गरेकी हुन् ।

भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले भवन निर्माणको गुणस्तरलाई ध्यान दिन निर्देशन दिइन् । सरकारी सम्पती हो भन्दै वेवास्ता गर्ने होइन दिर्धकाल सम्मका लागि हुने गरी निर्माण हुनुपर्ने उनको भनाई थियो ।

हेटौंडा उपमहानगरपालिकाको लगानीमा निर्माण हुन एक तल्ले ६ कोठाको भवन उपभोक्ता समिति मार्फत निर्माण थालिएको हो । करीब ४० लाख रुपियाँको लागतमा निर्माण हुने भवनमा उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता रहने वडा अध्यक्ष सुकराम केसीले बताए ।

त्यस्तै मंगलबार नगर प्रमुख लामाले हेटौंडा ९ मा रहेको प्रगती माध्यमिक बिद्यालयले निर्माण गर्न लागेको भवनको पनि शिलान्यस गरेकी छन् । हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपियाँको लगानीमा निर्माण हुने भवनको जगको काम पहिलो चरणमा गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए ।