२०८१ बैशाख १६, आईतबार    

मनहरीमा कांग्रेस–माओवादी गठबन्धन टुट्ने सम्भावना बढ्यो

२०८० फाल्गुन १२, शनिबार १९:२६ बजे

मनहरी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रवीच स्थानीय तहको निर्वाचनमा भएको गठबन्धन टुट्ने सम्भावना बढेको छ ।

स्थानीय सरकारका सहयात्री दल नेकपा माओवादी केन्द्रसहित मनहरीमा क्रियाशील पाँच राजनीतिक पार्टीले गाउँपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने गरी आह्वान भएको पुल समयमै नबनेको विषयमा कांग्रेस वाग्मती सभापति इन्द्रबहादुर बानियाँविरुद्ध आन्दोलन सुरु गरेपछि गठबन्धन सकसमा परेको हो ।

मनहरीमा निर्माणाधीन ४ वटा पुलको ठेकेदार हिराचन–बानियाँ जेभीले प्रतिस्पर्धात्मक रुपमा जिम्मेवारी पाएको थियो । ठेक्कामा कानूनी र व्यक्तिगत रुपमा सभापति बानियाँको संलग्नता नरहेको विषयमा गठबन्धनमा रहेको माओवादीले समेत आन्दोलनको पक्षमा उभिएपछि गठबन्धन टुट्ने डिलमा पुगेको हो ।

शुक्रबार बिहान मनहरीका निर्माणाधीन पुलहरु समयमै निर्माण नगर्ने ठेकेदार भन्दै प्रदेश सांसद समेत रहेका बानियाँ र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको तस्वीर कालो ब्यानरमा राखेर गाउँपालिका कार्यालय र निर्माणाधीन पुलहरुमा राखेर माओवादीसहित नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए । जसका कारण अहिले मनहरीको राजनीति तरंगित बन्न पुगेको छ ।

स्थानीय तहको निर्वाचन २०७९ मा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भई निर्वाचन भएकोमा कालाखेती कांग्रेसबाट अध्यक्षमा निर्बाचित भएका हुन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी सीता पुलामी निर्बाचित भएकी छन् । मनहरी कार्यपालिकामा कांग्रेसको एकल बहुमत रहेको छ । पालिकाको नौवटा वडामध्ये कांग्रेसले ६ वटा र माओवादीले ३ वटा जीत हात पारेको छ । एमालेले मनहरीको ९ नम्बर वडामा मात्रै ४ जना सदस्य निर्वाचित भएका थिए ।

‘माओवादीसँग सहकार्य गरेर हामी गठबन्धनलाई अगाडि बढाइरहेका थियौं । गाउँपालिकाको आन्तरिक आयबाटै भएको ठेक्का विषयमा माओवादी पालिका अध्यक्षले नै हस्ताक्षर गरेपछि गठबन्धनमा समस्या आउनु स्वभाविक हो ।’, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौलाले भने । माओवादी पालिका अध्यक्ष रामप्रसाद कालाखेतीले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । मनहरी पालिकामा नेकपा एकीकृत समाजवादी र राप्रपाको स्थानीय सरकारमा सहभागिता छैन । राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव हुँदाताका स्थापना नै भएको थिएन ।

स्रोतका अनुसार मनहरी–२ का वडाअध्यक्ष एवम् इञ्चार्ज राजकुमार पाख्रिनले कालाखेतीलाई कारबाहीका लागि पार्टीसँग छलफल अगाडि बढाएका छन् । ‘आइतबारसम्म कारबाहीको विषय टुंगिन्छ होला ।’, स्रोतले भन्यो ।

मनहरीमा आइतबार कांग्रेस पालिका समिति र नेपाल तरुण दल पालिका समितिले संयुक्तरुपमा ५ दलिय आन्दोलनको विरोधस्वरुप प्रदर्शन गर्दैछन् ।