२०८१ बैशाख २७, बिहीबार    

उपसभामुखमा ३ जनाको उम्मेदवारी

२०७९ पौष २९, शुक्रबार १९:१३ बजे

बागमती प्रदेशसभाका उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ।

शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेर ३ जनाले उम्मेदवारी दिएका हुन्। निर्वाचन भने माघ २ गते मात्रै हुनेछ। प्रदेशसभाका उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक बसेका छन्। कांग्रेसकी परियारले प्रस्तावक उत्तम जोशी र याङ्किला शेर्पाको समर्थनमा उम्मेदवारी दिएकी हुन्। यस्तै नेमकिपाकी काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाईंको समर्थकमा उम्मेदवारी दर्ता गरेको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिँदै छन्। त्यसअघि सबै प्रक्रिया टुंगिनेछ।

​शुक्रबार भएको निर्वाचनबाट प्रदेशसभाका सभामुखमा ६२ मत ल्याएर राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका थिए। नवनियुक्त सभामुख पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई माघ २ गते उसभामुख चयनका लागि निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन्।

उनले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठकसमेत आह्वान गरेका छन्। सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार उपसभामुख नेकपा एमालेको भागमा परेको थियो।