वाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि १३ जिल्लालाई २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै तत्काल विपद् व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा उक्त रकम पठाइएको हो ।
मन्त्री सुरजचन्द लामिछानेको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्बाट बढी क्षति बेहोरेको काभ्रेलाई ६० लाख, धादिङलाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाडौं र सिन्धुपाल्चोकलाई २० लाख, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई १०/१० लाख रुपैयाँ राहत रकम वितरण गर्ने निर्णय गरेको थियो ।
‘जिल्लामा भएको क्षतिको आधारमा थप बजेट माग भएको खण्डमा हामी पुनःराहत उपलब्ध गराउने छौं,’ मन्त्री लामिछानेले भने । उनका अनुसार १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा ५/५ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । यो बजेट सडक मर्मतमा प्रयोग भएका मेसिन औजारका इन्धन खरिद लगायतमा खर्च गर्न सकिनेछ ।