२०८१ बैशाख २८, शुक्रबार    

सहकारी अस्पतालमा विवाद, नरोत्तम दाहालद्वारा राजीनामा

२०७८ माघ १२, बुधबार १७:४९ बजे

हेटौंडा/ हेटौंडा–१, भिन्तुना पथमा रहेको सहकारी अस्पतालमा विवाद बढेको छ । विवाद बढेसँगै संस्थाका उपाध्यक्ष नरोत्तम दाहालले राजीनामा दिएका छन् ।

श्री सुनौलो भविष्य सहकारी संस्था लिमिटेड हेटौंडा–१, मकवानपुरद्वारा सञ्चालित यस अस्पतालमा ल्याव स्थापना गर्ने विषयमा विवाद भएको हो । अस्पताल सञ्चालक समितिले उपाध्यक्ष दाहाललाई ल्याव सञ्चालन गर्न संयोजक तोकेको थियो । तर, उनलाई बाइपास गरेर ल्यावका लागि आवश्यक सामग्री खरिद गरेपछि अस्पतालमा विवाद सुरु भएको हो ।

‘संस्थाले अस्पतालमा ल्याव सञ्चालन सम्बन्धि कार्यको लागि मलाई संयोजक तोकेको थियो । मैले प्रतिवेदन समेत संस्थालाई बुझाइसकेको अवस्थामा मेरो प्रतिवेदनलाई कार्यान्वयन गर्नुको सट्टा जानकारी विना नै पुरानो ल्यावको सामाग्री खरिद गरी सञ्चालन गर्न लागेको विषयमा मेरो आपत्ति हो । त्यसैले मैले राजीनामा दिएँ ।’, दाहालले संस्थाका अध्यक्ष विष्णगोपाल महर्जनलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका छन् ।

राजीनामा पत्र अस्पतालमा माघ १० गते दर्ता गराइसकेका छन् । दाहाल उद्योग बाणिज्य संघ मकवानपुरका सल्लाहकार समेत हुन् ।