२०८१ बैशाख २४, सोमबार    

हेटौंडा उपमहानगरको नीति तथा कार्यक्रम पारित

२०७९ असार ७, मंगलबार ११:४७ बजे

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

मंगलबार विहान बसेको नगर कार्यपालिकाको वैठकले आगामी आव २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । कार्यपालिका वैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट असार १० गते बस्ने नगरसभामा पेश गरिनेछ । स्थानीय तहको निर्वाचनपश्चात् पहिलो पटक नगरसभाको वैठक बस्न लागेको हो ।

आगामी आवमा हेटौंडा उपमहानगरको बजेट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी ल्याउने तयारी भइरहेको छ । पूर्वाधार, कृषि, स्वास्थ्य, खानेपानी र खेलकुदलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको छ ।

आगामी आवका लागि बिनियोजित बजेटमा १९ वटै वडाले पाउने बजेट बढ्ने भएको छ । पाँच वर्ष अगाडि तोकिएको बजेट सिलिङभन्दा आगामी आवमा ५ करोड ७० लाख रुपियाँ बजेट वडा तहमा बढी पठाइने भएको हो ।

पुरानो बजेट सिलिङले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मीनाकुमारी लामाले सवै वडाको सिलिङमा ३०/३० लाख रुपियाँका दरले बजेट वृद्धि गरेकी हुन् ।