हेटौंडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ ।
हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
उपमहानगर भित्र रहेका ५ वर्ष मुनिका ७ हजार १ सय ८५ जना बालबालिकालाई पूर्ण खोप लगाइएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद तिवारीले बताए ।
उपमहानगरपालिका भित्र रहेका ५ वर्ष मुनिका सवै बालबालिकालाई सम्पूर्ण खोप दिएका उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्ण मिजारले मेयर मीनाकुमारी लामालाई उपलब्ध गराएका थिए ।
गत चैत महिनादेखि उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्ने अभियान संचालन गरिएको थियो । स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र जनप्रतिनिधी घर/घरमा पुगेर बालबालिकालाई खोप लगाउने कार्य गरेका थिए । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको प्रमुख अतिथी एवं मेयर लामाले पूर्णखोपलाई दिगोपन दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वयसेविका र जनप्रतिनिधि सधै सक्रिय रहनु पर्ने बताइन् ।
'उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि पूर्ण खोप महत्व पूर्ण सुचक रहेको छ,' उनले भनिन् । कार्यक्रममा उपमेयर राजेश बानियाँ, स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख सागर घिमिरेले खोपका बारेमा बोलेका थिए । उक्त घोषणा कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुलाई खादा ओढाएर सम्मान गर्नुको साथै कदर पत्र पनि प्रदान गरिएको थियो ।
१९ वटा वडामा विभाजित उक्त नगरपालिकामा २२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् ।