हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा कार्यालयमा भएको निशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिएका छन् ।
वडामै रहेको युनिलिभर नेपाल लिमिटेडको आयोजना तथा ३ नम्बर वडा कार्यालयको संयोजनमा भएको शिविरमा १३७ जनाले सेवा लिएका हुन् । ज्येष्ठ नागरिक लक्षित गरी शिविरको आयोजना गरिएको हो ।
जनरल फिजिसियन, नाक, कान, घाँटी, सुगर प्रेसर लगायतका विरामीले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा ३ नम्बर वडा अध्यक्ष ढलकबहादुुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडामै रहेको बहुराष्ट्रिय कम्पनीले वडाका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेकोमा उनले आभार व्यक्त गरे । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत वडाबासीको हितमा सहकार्य हुनुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा वडा सदस्य रत्न भ्लोन, व्यवसायी विष्णु खनाल, स्थानीय युवा समाजसेवी टेकनाथ शिवाकोटीसहित युनिलिभरका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।