२०८२ बैशाख ११, बिहीबार    

हाँडीखोला स्वास्थ्यचौकीमा डाक्टरसहितको सेवा सुरु

२०८१ असार ७, शुक्रबार ११:४२ बजे

मकवानपुरको मनहरी गाउँपालिका ३ मा रहेको हाँडीखोला स्वास्थ्यचौकीमा डाक्टरसहितको सेवा सुरु भएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाले एमबिबिएस डाक्टरसहितको सेवाको सुरुवात गरेको हो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सेवाको सुरुवात गरेका हुन् । गाउँपालिकाको मनहरी अस्पतालमा मात्र भएको सेवा सुविधालाई स्वास्थ्यचौकीबाट समेत प्रवाह गर्ने उद्देश्यले सेवा थालनी गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए । साविक हाँडीखोला गाविसका सर्वसाधारणलाई लक्षित गरी गाउँपालिकाले साताको एक दिन बिहीबार एमबिबिएस डाक्टर सहितको सेवा सुरु गरेको हो ।

बिरामीको चापलाई मध्यनजर गरी आगामी दिनमा थप व्यवस्थित गर्दै दरवन्दी नै कायम हुने गरी नियमित डाक्टरको व्यवस्था गर्ने योजना रहेको पालिका अध्यक्ष कालाखेतीले जानकारी दिए । गाउँपालिकाको वडा नं १, २, ३ र ४ को बीचमा रहेको स्वास्थ्यचौकीबाट नियमित दिशा, पिसाव तथा रगत जाँच लगायतको सेवाहरु प्रदान गर्दै आएको ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले बताए । गाउँपालिकाले डाक्टरको व्यवस्था गरेपछि स्वास्थ्य उपचारका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास रहेको छ ।

‘आजदेखी हाम्रै हाँडीखोला स्वास्थ्य चौकीबाट एमबिबिएस डाक्टरसहितको सेवा सुरु गरेका छौँ । ल्यावको पनि व्यवस्थापन गरेको छौं’, वडा अध्यक्ष अर्यालले भने, ‘निर्वाचनमा गरेको वाचा पूरा गर्न थोरै ढिला भयो तर प्रभावकारी हिसावले गर्ने लक्ष्यका साथ सुरुवात गरेको छौ । तत्काललाई साताको एकदिन बिहिबार डाक्टर सहितको सेवा सुरु गरिएको छ । ल्यावको सुविधा प्रत्येक दिन हुनेछ ।’