२०८१ बैशाख २१, शुक्रबार    

ऐन संशोधनको माग गर्दै मन्त्री र सांसदको ध्यानाकर्षण

२०८० आश्विन १४, आईतबार १८:४७ बजे

वाग्मती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पताल राखिएको विरोधमा यहाँका राजनीतिक दलहरुले मन्त्री तथा सांसदको ध्यानाकर्षण गराएका छन् ।

हेटौंडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतबाट हटाएर संघीय सरकार मातहत नै राख्न आग्रह गर्दै उनीहरुलाई ज्ञापन पत्र बुझाइएको हो । आइतबार प्रदेशसभा वैठक अगाडि मन्त्री र सांसदलाई प्रदेशसभा परिसरमै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन संशोधनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए ।

प्रतिष्ठानको आफ्नै अस्पताल नबनुन्जेलसम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने व्यवस्था गर्दै हालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐनलाई विस्थापित गर्न जरुरी रहेको उनले बताए । ‘दुबैको फरक फरक लक्ष्य र उद्देश्य रहेका छन् । प्रतिष्ठानले छिट्टै आफ्नो अस्पताल बनाउन जरुरी छ ।’, महतले भने ।

पत्रमा महत सहित नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रीन, नेकपा एस मकवानपुरका सचिव ध्रव भुजेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । टोलीले लामो समयदेखि यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ ।