२०८१ बैशाख १५, शनिबार    

सिटी वा लिभरपुल, कसले जित्ला प्रिमियर लिग?

२०७९ जेठ ५, बिहीबार १२:१५ बजे

इंग्लिस प्रिमियर लिगमा अन्तिम खेल बाँकी रहँदा अझैपनि उपाधिको छिनोफानो हुन सकेको छैन । उपाधि दौडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेका छन् ।

एक खेल बाँकी रहँदा सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पारेको छ । अग्रताको आधारमा म्यानचेस्टर सिटी नै प्रिमियर लिग च्याम्पियन बन्ने बलियो सम्भावना छ । तर लिगको अन्तिम खेल एकै समयमा हुने कारण दुवै नतिजाले उपाधि होडमा प्रत्यक्ष असर गर्नेछ ।

सिटीले ३७ खेलबाट ९० अंक जोडेको छ । वेस्ट ह्याम युनाइटेडविरुद्ध सिटीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर २–२ गोलको बराबरी खेल्दै उपाधि होडमा अघि रहन सफल भयो । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलमाथि १ अंकको अग्रता लिएको छ । यता लिभरपुल मंगलबार राति साउथह्याम्प्टनलाई २–१ ले पराजित गर्दै उपाधि होडमै उभिएको हो ।

लिभरपुलले अन्तिम खेलमा प्रिमियर लिग जितेर घरेलु ट्रेबल पूरा गर्न सिटीले अंक गुमाउनुपर्नेछ भने लिभरपुलले जित निकाल्नुपर्नेछ ।

म्यानचेस्टर सिटीले कसरी जित्छ प्रिमियर लिग ?

लिभरपुल अन्तिम खेल जिते ९२ अंकमा पुग्न सक्छ । म्यानचेस्टर सिटी हाल ९० अंकमा छ । यदि उसले आफ्नो अन्तिम खेल एस्टन भिल्लालाई हराए सिटी च्याम्पियन बन्नेछ ।

लिभरपुलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले पराजित गरेपछि उपाधिको छिनोफनो अन्तिम म्याच डेमा पुगेको हो । अब अन्तिम खेलमा लिभरपुलले अंक गुमाएको खण्डमा भने सिटी जस्तो नतिजा आएपनि च्याम्पियन बन्नेछ । अंक बराबरी भएपनि गोल अन्तरमा सिटी निकै अघि छ ।

लिभरपुलले कसरी जित्छ प्रिमियर लिग ?

यदि लिभरपुलले अबको खेल जिते म्यानचेस्टर सिटीले आफ्नो अन्तिम खेलमा अंक गुमाए भने लिभरपुल च्याम्पियन बन्नेछ । जितले लिभरपुलको ९२ अंक हुँदा सिटीको अन्तिम खेल बराबर भए ९१ अंक मात्र पुग्नेछ ।

म्यानचेस्टर सिटी र लिभरपुलको आगामी खेल

म्यानचेस्टर सिटीले सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई घरेलु मैदान इतिहाद स्टेडियममा निम्तो दिनेछ । लिभरपुलले पनि मे २२ मा घरेलु मैदान एनफिल्डमा वल्भ्ससँग खेल्नेछ ।