रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सोमबारबाट हेटौंडामा सुरु हुने तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
१५ टिमको सहभागिता रहने प्रतियोगिताको तयारी पूरा भएको आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटनमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लव, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लव झापा, एसएन केसी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ । ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले बताए ।
प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिँदै जाने लक्ष्य रहेको खेल संयोजक मोहन ढकालले बताए । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोटर्याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहनेछ । प्रतियोगीताका लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लव चितवनले जितेको थियो ।