२०८१ माघ २८, सोमबार    

बागमती गोल्डकपको सातौं संस्करण फागुन १ गतेदेखि १० गतेसम्म हुने

२०८१ पौष २८, आईतबार १७:४८ बजे

सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुने भएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता बागमती –४ झुरझुरे स्थित पालिकाको लगानीमा निर्मित शहिद स्मृति रङशालामा हुनेछ ।

यस अघिका सस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो । फुटबल खेलको प्रवद्र्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालनको लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने खेलकुद विकास समिति सदस्य सचिव प्रमोद राईले बताउनुभयो ।

यस अघिको छैटौ संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।