२०८१ बैशाख २०, बिहीबार    

मकवानपुरमा १९ मतदान स्थल अतिसंवेदनशिल

२०७८ चैत्र १२, शनिबार १३:४१ बजे

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माण सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ वटा अतिसंवेदनशिल, ६० वटा संवेदनशिल र ८६ वटा सामान्य गरी तीनभागमा मतदान स्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशिलमा राखिएको छ । यसपटकको निर्वाचनमा एउटा निर्वाचन स्थल भएको हो । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।

‘विगतको निर्वाचनको समिक्षासहित सञ्चार र यातायातको पहुँचको आधारमा हामीले विभाजन गरेका हौं । यसै हप्ताभित्र निर्वाचन स्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति हामी तय गर्नेछौं ।’, उनले संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेका कारण काम गर्न थप सहज हुने बताए ।

‘मतदान स्थलको संवेदनशिलताका आधारमा हामी विशेष सुरुक्षा योजना बनाएर लागू गर्नेछौं ।’ प्रजिअ पाण्डेले नागरिकले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा रणनीति तय गरिने दावी गरे । उनले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल गरिरहेको बताए । ‘निर्वाचन कार्यालयले प्राविधिक तयारी गरिरहेको छ । हामीले सुरक्षा र अन्य तयारी गरिरहेका छौं । राजीतिक दललाई पनि संवेदनशील भएर कार्यक्रम आयोजना गर्न हामीले भनेका छौं ।’, उनले भने ।