२०८१ चैत्र ७, बिहीबार    

४ जीपीए ल्याउँदै बालजागृतिकी छत्कुली भइन् जिल्ला प्रथम

२०८१ असार १३, बिहीबार १६:२१ बजे

हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुल हेटौंडाकी छात्रा रितिका छत्कुली एसईई परीक्षामा मकवानपुर जिल्ला प्रथम भएकी छन् ।

हेटौंडा–२, निवासी छत्कुलीले विहीबार प्रकाशित एसईई परीक्षाको नतीजा अनुसार ४ जीपीए हासिल गर्न सफल भएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये उत्कृष्ट भएकी हुन् । उनी देशभरको सर्वोत्कृष्ट १८६ विद्यार्थीमध्ये समेत पर्न सफल भएकी हुन् ।

बालजागृतिबाटै विद्यालय शिक्षाको सुरुवात गरेकी छत्कुली असाध्यै अनुशासीत र मेहेनती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । ‘उनी हाम्रो विद्यार्थीमध्ये मेधावी छात्रा हुन् ।’, प्रिन्सिपल सुवेदीका अनुसार विद्यालयमा सधैं प्रथम भइरहने उनी विज्ञान तथा गणित प्रदर्शनी र वत्तृत्वकलामा जिल्लामा प्रथम भइरहन्थिन ।

साहित्यमा समेत रुची भएकी उनलाई विद्यालयले छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको थियो । ‘उनी अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा समेत सहभागी भइरहने विद्यार्थी हो ।’, प्रिन्सिपल सुवेदीका अनुसार विद्यालयले पहिलो ४ जीपीए ल्याएको हो ।