२०८१ बैशाख १७, सोमबार    

बंशगोपाललाई ४ थान प्रोजेक्टर सहयोग

२०८० असार १६, शनिबार ११:१० बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित बंशगोपाल माध्यमिक विद्यालयलाई ४ थान प्रोजेक्टर सहयोग प्राप्त भएको छ । विद्यालयलाई हेटौंडा– ६, नं. वडा कार्यालयले उक्त प्रोजेक्टर उपलब्ध गराएको हो ।

वडा कार्यालयको चालु आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

‘विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रोजेक्टर सहयोग गरेका हौं’–कम्युप्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष विष्णुबहादुर दाहालले भने, ‘हामी वडामा रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउछौं ।’

विद्यालयलाई प्रोजेक्टर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै विद्यालयका प्राचार्य रमेश लामिछानेले भने, ‘अघिल्लो बर्ष प्रदेश सरकारले २० वटा ल्यापटप उपलब्ध गराएको थियो । अब हामीलाई २० वटा ल्यापटप, १५ वटा प्रोजेक्टर र १० वटा सिसि क्यामेराको आवश्यकता छ । यति भयो भने विद्यालय प्रविधिमैत्री बन्छ ।’

प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, वडा सचिव आमोद प्रसाद मैनाली, विद्यालयका लेखापाल कृष्ण मानन्धर, संचारकर्मी भमिसेन पौडेल लगायतको सहभागिता थियो ।