२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडा क्याम्पस र स्थानीय तहबीच सहकार्यमा जोड

२०८० जेठ ७, आईतबार १२:०६ बजे

हेटौंडा क्याम्पसले जिल्लाका स्थानीय तहसँग सहकार्य गर्ने योजना अघि सारेको छ । जिल्लाका पालिकाहरुसंग आपसी सहकार्य अभिबृद्धि गर्ने उद्देश्यका साथ हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

हेटौंडा क्याम्पसमा अधिकांश विद्यार्थीहरु विभिन्न गाउँपालिकाबाट अध्ययन गर्न आउने गरेको र उनीहरुको अध्ययनलाई थप व्यवस्थित गर्न पालिकाहरुले सक्दो आर्थिक र भौतिक सहयोग गर्न जरुरी रहेकोमा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको जोड थियो । क्याम्पसले पालिकाहरुमा विभिन्न तालिम सञ्चालनसँगै शैक्षिक सामग्रीको निर्माण सम्बन्धि कार्यमा सहयोग पु¥याउने क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धरको भनाई थियो ।

क्याम्पसमा पालिकाहरुको बारेमा जानकारी लिखित रुपमा राखेको र कक्षाको नामाकरण नै पालिकाको नामबाट गरिएको छ । यस्तै विद्यार्थीहरुलाई जिल्लाको विविध बिषयमा जानकारी दिने उद्देश्यले मकवानपुरका पालिकाको भौगोलिक, जनसाङ्खिक, शैक्षिक, जातीगत तथ्यांकको विवरण कक्षाकोठाको ढोकामा टाँसिएको छ । कार्यक्रममा मकवानपुरको शैक्षिक अवस्थालाई थप सुधार गर्न विभिन्न उपायहरु बारे चर्चा गरिएको थियो । उच्च शिक्षाको विकासमा मकवानपुरका पलिकाहरुको भूमिका बिषयमा क्याम्पस प्रमुख मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिसस प्रमुख घलानसँगै भीमफेदी गाउँपालिका प्रमुख हिदम लामा, बागमती गाउँपालिका प्रमुख सर्केश घलान, मकवानपुरगढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङ्तान, उपप्रमुख मानकुमारी नेपाली, इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्ण धिताल, स्ववियु अध्यक्ष अभी मैनाली, समाजसेवी सिताराम बर्तौला लगायतले क्याम्पसको शैक्षिक एवम् भौतिक विकासमा सबै स्थानीय तहको सहयोग जरुरत् रहेको धारणा राखेका थिए ।

हेटौंडा क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्रीधर पोखरेलले आवश्यक सहयोग एवम् सहकार्यका लागि मकवानपुरको पालिकाहरुसँग अनुरोध गरेका थिए ।