२०८० चैत्र १६, शुक्रबार    

शिक्षा क्षेत्रमा लगानी बढाउँदै उपमेयर बानियाँ

२०७९ आश्विन ११, मंगलबार १६:५५ बजे

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षा क्षेत्रमा आफ्नो व्यक्तिगत लगानी बढाउँदै लगेका छन् ।

हेटौंडा–५ को वडा अध्यक्षहुँदा शिक्षा र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको उनले उपमेयर भएसँगै शिक्षामा बढी जोड दिएका छन् । शिक्षाबाटै समाज रुपान्तरण र परिवर्तन सम्भव भएकोभन्दै उनले शिक्षा क्षेत्रमा लगानी बढाएको बताए । उनले मंगलबार हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविलाई एकलाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम विद्यार्थी पठनपाठन गर्ने टेवल र सांस्कृतिक सामग्री खरिदका लागि सहयोग गरिएको उनले बताए ।

बानियाँले उक्त रकम उनले आफ्नो पारिश्रमिकबापत् उपलब्ध गराएका हुन् । ‘उपमहानगरको सम्पूर्ण सामुदायिक विद्यालयको शिक्षालाई थप प्रभावकारी बनाउन हामीले योजना बनाइरहेका छौं । आगामी आर्थिक वर्षबाट हामीले प्राविधिक शिक्षा पनि थप्दैछौं ।’, उनले आफूले पारिश्रमिकबापत् प्राप्त गर्ने सम्पूर्ण सेवासुविधा शिक्षामै खर्च गर्ने योजना बनाएको बताए ।

‘अब शिक्षाबाटै आत्मनिर्भर बन्नुपर्छ । त्यसकारण उपमहानगरको स्वभाविकरुपमा बढी लगानी शिक्षामा रहन्छ ।’ रकम हस्तान्तरण गर्दै उनले भने । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत अर्यालको सभाध्यक्षता रहेको थियो । रकम हस्तान्तरण कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेको पनि उपस्थिति रहेको थियो ।