२०८० चैत्र १६, शुक्रबार    

कोरियाली सहयोगमा मनहरीमा छात्राबास भवन निर्माण

२०७९ चैत्र २६, आईतबार १८:०५ बजे

ग्लोबल एजुकेसन फर अल दक्षिण कोरियाको सहयोगमा मनहरी गाउँपालिका–८, ज्यामिरेस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा छात्राबास भवन निर्माण भएको छ ।

२०७५ सालबाट निर्माण सुरु भएको दुई तल्लो छात्राबास भवनको फाउण्डेसनका अध्यक्ष डा. जोङ जेले उद्घाटन गरेका छन् । करिब १ करोड रुपैयाँ लागतमा ८० जना क्षमताको रहेको भवन र आवश्यक सामग्री व्यवस्था गरिएको हो । भवन निर्माण भएसँगै उक्त विद्यालयमा १८ महिने र ३ वर्षे कृषि बालिविज्ञान अध्ययन गर्न विकट राक्सिराङ र कैलाश गाउँपालिकाबाट आउने विद्यार्थीलाई सहज हुने दावी गरिएको छ ।

छात्राबास भवन नहुँदा त्यहाँ अध्ययन गर्ने राक्सिराङ र कैलाश विद्यार्थीहरु कोठा भाडामा लिएर बस्न बाध्य थिए । ‘कोठा भाडामा लिएर बस्न नसकेकै कारण केही विद्यार्थीले विचैमा पढाइ समेत छाडेका छन् । अब सायद कोठा भाडमा लिएर बस्न नसक्दा पढाई छाड्ने क्रम रोकिनेछ ।’, विद्यालयका प्राचार्य शिव रिमालका अनुसार छात्राबासमा अझै शौचालय, बाथरुम र फिनिसिङको काम बाँकी रहेको छ ।

‘बाँकी काम केही समयभित्र सकिनेछ । नयाँ शैक्षिक सत्रको सुरुवातहुँदा पूर्णरुपमा भवन प्रयोग गर्न मिल्नेछ ।’, छात्रावास भवन निर्माण समितिका संयोजक सौगुन लामाले भने ।

छात्राबास उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरिबहादुर महत, समाजसेवी सिद्धिलाल श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।