२०८१ जेठ १, मंगलबार    

तेस्रो प्रयासमा नेपाल भित्रियो एकअर्ब २ करोडको हेरोइन

२०७९ असार ३, शुक्रबार ०७:३९ बजे

प्रतिबन्धित लागूऔषध हेरोइनसहित सात दक्षिण अफ्रिकी नागरिक ठमेलबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले सेतो र खैरो ५१ केजी हेरोइनसहित उनीहरूलाई ठमेलको ५ होटलबाट पक्राउ गरेको हो । समातिने सबै महिला हुन् । उक्त परिमाणको हेरोइनको मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार यति धेरै परिमाणको हेरोइन एकैपटक बरामद भएको यो पहिलो घटना हो । ब्युरो प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार सेतो हेरोइन प्रतिकेजी २ करोड रुपैयाँसम्ममा कारोबार हुने गरेको छ । भारतमा पुर्‍याएपछि यसको मूल्य थप बढाएर कारोबार गर्न सक्ने उनले बताए । ‘यो हेरोइन नेपालमा खपत हुने भन्ने नै छैन, नेपाल हेरोइनको बजार पनि होइन, विगतका तथ्य र प्रमाणले पनि यो लागूऔषध भारत लैजानकै लागि ल्याइएको देखिन्छ,’ उनले भने । सातै जनाका लागि ठमेलका ५ होटल अफ्रिकाबाटै अनलाइनमार्फत बुकिङ गरेको देखिन्छ । प्रहरीले जेठ २६ देखि ३१ सम्म उक्त हेरोइन नियन्त्रणमा लिन विशेष अप्रेसन चलाएको थियो ।

पक्राउ पर्नेमा २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्ट छन् । सीबीसी र मुरायल जेठ २९ मा दुबईबाट आएका हुन् । उनीहरूको साथबाट १६ केजी सेतो हेरोइन बरामद गरिएको छ । त्यस्तै, जेठ ३० मा टिसावालाला र रोजिना दक्षिण अफ्रिकाबाट दुबई हुँदै आएका हुन् । उनीहरूबाट ८–८ केजी बरामद भएको छ । जेठ २६ मा मल्हाको दुबई हुँदै आएकी हुन् । मोरोएसी जेठ ३१ मा कतारबाट र मोर्लेस दुबईबाट त्रिभुवन विमानस्थल अवतरण गरेकी हुन् । मल्हाको ७ केजी सेतो हेरोइनसहित जेठ ३० मा पक्राउ परेकी हुन् । मोरोएसीलाई ४ केजी सेतो र २ केजी खैरो तथा मोर्लेस ६ केजी सेतो हेरोइनसहित जेठ ३१ मा पक्राउ परेका हुन् ।

लगेजमा फल्स बटम लगाएर भित्र्याइएको हेरोइन केही दिनभित्रै भारत लैजाने तयारी थियो । त्यसका लागि केही मानिस आएको र तिनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार हेरोइन पास गर्न दक्षिण अफ्रिकादेखि भारतसम्म रहेका गिरोहले चरणबद्ध रूपमा सेटिङ गर्ने गरेका छन् । उक्त हेरोइन दक्षिण अफ्रिकाबाट काठमाडौं हुँदै भारत लैजान लागिएको प्रहरीको भनाइ छ । सातै जनाले आफूहरूलाई दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहेका व्यक्तिले हेरोइनसहित पठाएको प्रारम्भिक बयान दिएका छन् । एसपी श्रेष्ठले यससम्बन्धी अनुसन्धान भइरहेको र थप सहयोग माग्दै इन्टरपोलसँग पनि समन्वय गरिने जानकारी दिए । इन्टरपोल विश्वका प्रहरीहरूको साझा संगठन हो ।

प्रहरीका अनुसार काठमाडौं ओर्लिएलगत्तै नेपाल र भारतमा रहेका गिरोहसँग सम्पर्क गर्न मोर्लेसले नेपाली सिमकार्ड लिनुका साथै नेपाली रुपैयाँ पनि साटिसकेको पाइएको छ । उनले कसका नाममा सिमकार्ड लिइन् भन्ने प्रहरीले खुलाएको छैन । सातै जना बढीमा दुई साताको भिजिट भिसामा नेपाल आएका थिए । अधिकांशले दक्षिण अफ्रिकास्थित नेपाली नियोगबाटै भिसा लगाएर आएको खुलेको छ ।

पक्राउ पर्नेमध्ये मुरायल २ महिनाअघि मात्रै दुईपटक काठमाडौं आएकी खुलेको छ । प्रहरीका अनुसार पछिल्लोपटक बरामद लागूऔषध भारतसम्म पुर्‍याउने योजनासहित सेटिङ मिलाउन ती महिला काठमाडौंमा आएर फर्किएकी र तेस्रो प्रयासमा नेपालसम्म ल्याउन सफल भएको देखिन्छ ।