२०८१ बैशाख २७, बिहीबार    

अन्तर्राष्ट्रिय खेलाडी चुडाको प्रहरी अनुभव : असाध्यै च्यालेञ्जिङ्ग पेशा रहेछ

२०७८ माघ १९, बुधबार १५:२७ बजे

हेटौंडा/ हेटौंडा–५, सानोपोखरा घर भएकी चुडाकुमारी खड्काले हुप्रचौरमा भलिबल सिक्दै गर्दा नै एकदिन राष्ट्रिय टोलीबाट खेल्ने सपना बुन्न थालिसकेकी थिइन् ।

परिवार नै खेलकुदमा रमाउने भएपछि उनलाई आफ्नो उद्देश्य पूरा गर्न कुनै समस्या नै भएन । २०५८ सालमा वीरेन्द्र शिल्ड प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै १७ वर्षको उमेरमै उनले औपचारिक भलिबल प्रतियोगिता खेल्न थालेकी थिइन् । छोटो समयमै देशको विभिन्न स्थानमा हुने महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भएर सबैको मन जित्न थालेकी खड्काले २०६३ सालमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । त्यसपछि उनको खेलकुद जीवनले गति लिन थाल्यो ।

a (1)

भलिबलमा थप उचाइ हासिल गर्न उनी २०६४ सालमा नेपाल पुलिस क्लबमा आबद्ध भइन् । करारमा जवानबाट नेपाल प्रहरीमा प्रवेश गरेकी ३४ वर्षीया खड्का अहिले प्रहरी निरीक्षक पदमा रहेर काम गरिरहेकी छिन् । सधैं भलिबल कोर्टमा रमाउने उनी अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेल प्रमुखको रुपमा कमाण्ड सम्हालिरहेकी छिन् ।
‘परिवारको सहयोगमा मैले यहाँसम्मको यात्रा तय गरेकी हुँ । ’, उनले करिब ११ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेकी थिइन् । खड्काले २०६३ सालदेखि २०७२ सालसम्म राष्ट्रिय टोलीमा रहेर नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् ।

भलिबल र पढाईलाई सँगसँगै अगाडि बढाउन सफल खड्काले २०७२ सालमा तीन महिनाको फरकमा सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर)मा नाम निकाल्न सफल भइन् । साउन महिनामा असईमा नाम निकालेकी खड्काले असोजमा इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।

‘मेरो परिवारका सदस्यहरु आर्मी र प्रहरीमा भएका कारण मलाई यो पोशाकको ज्यादै माया लाग्थ्यो । भलिबल र प्रहरीको जागिर मेरो आफ्नो रोजाइ हो । भलिबल खेल्न पुलिसमा आबद्धहुँदा नै प्रहरीमा रहेर सेवा गर्ने मनस्थिति बनाइ सकेकी थिएँ ।’, उनले थुप्रै अन्तर्राष्ट्रिय पदक पनि जितेकी छिन् । खड्काले २००६ को साफमा तेस्रो, २००९ मा वंगलादेशमा भएको पिस गेममा तेस्रो भइन् । माल्दिभ्समा २०१५ मा भएको वीच भलिबलमा स्वर्ण पदक जितेको क्षण उनी कहिल्यै विर्सन सक्दिनन् । उनी २०११ चीन, २०१४ श्रीलंका भएको भलिबल प्रतियोगितामा पनि नेपालको तर्फबाट सहभागी भएकी थिइन् । उनले आफ्नो खेल जीवनमा छ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइन् ।

गोरखा जिल्ला पालुङटारका सुवास भट्टसँग विवाह गरेकी खड्काको एक छोरा र एक छोरी छिन् । उनको पति पनि नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा कार्यरत् छन् । जसको कारणले उनलाई आफ्नो काममा थप हौसला मिलिरहेको छ । ‘खेल र प्रहरी जीवन दुवै आफ्नो इच्छाको क्षेत्र भएकाले दुवै महत्वपूर्ण लाग्छ ।’, उनले नेपालको हरेक क्षेत्रमा कार्यरत् महिलालाई समस्या भएपनि प्रहरी फरकखालको समस्या रहेको वताउँछिन् ।

aa

‘प्रहरी पेशा आफैंमा च्यालेञ्जिङ्ग छ । बच्चा र परिवारलाई समय दिन पाइँदैन । जतिखेर पनि जुनसुकै अवस्थामा निस्केर हिँड्नुपर्ने हुन्छ । अरु पेशामा चाडपर्व र महत्वपूर्ण समयमा परिवारसँग बस्न पाइन्छ । तर, यो पेशामा पाइँदैन ।’, उनले महिला प्रहरीको पति प्रहरी नै भएका खण्डमा भने काम गर्न केही सजिलो हुने बताइन् । ‘यो पेशाभन्दा बाहिरको मान्छेसँग विवाह गर्दा कामको प्रकृति र विचारमा मेल नहुँदा केही समस्या हुन्छ ।’, उनको अनुभव छ ।