२०८१ बैशाख १४, शुक्रबार    

प्रहरी समायोजन नहुँदा मधेश आन्दोलनमा, के गर्ला वाग्मती ?

२०७९ श्रावण २८, शनिबार १५:२८ बजे

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका हुन् ।

वाग्मती प्रदेश सरकारले चरणबद्धरुपमा आन्दोलन गर्ने घोषणा गरेपनि हालसम्म कुनै कदम चाल्न सकेको छैन । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनले भने, ‘भोलि २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयअगाडि १ हप्तासम्म धर्ना बस्नेछौं । १ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्नेछौं ।’ धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि मन्त्री साहले बताए ।

वाग्मतीमा हालसम्म तीनजनाले सरकारको नेतृत्व गरिसकेका छन् । सवैले यस विषयमा आवाज बलियो बनाएपनि फिल्डमै उत्रिएर भनेर केही गर्न सकेका छैनन् । नजिकिँदै गरेको प्रदेश र संघीय निर्वाचनका कारण पनि वाग्मतीले केही गर्न नसक्ने जानकारहरु बताउँछन् । ‘मधेशवादी दलका लागि यो नै चुनावी नारा हो । वाग्मतीमा यसो गर्दा टिकट नपाइने डर हुन्छ । त्यसकारण यहाँ केही हुने सम्भावन छैन ।’,सरकारका एक मन्त्रीले भने ।
संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने सर्त राखेका छन् ।

यसअघि मधेस सरकारले प्रहरी समायोजन सात दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो । प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेसका गृह तथा सञ्चारमन्त्री साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र पठाएका थिए । पत्रमा प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको स्मरण गराइएको छ ।