२०८१ बैशाख ७, शुक्रबार    

अब वाग्मती प्रदेशमा रक्तसञ्चार सेवा नि:शुल्क

२०७८ माघ १८, मंगलबार १२:०३ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारले रक्तसञ्चार सेवा नि:शुल्क हुने व्यवस्था गरेको छ । प्रदेश सरकारले रगत लिन कुनैपनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेसँगै यो सेवा नि:शुल्क भएको हो ।

प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लामो समयदेखि उठाएको विषयमा वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको सरकारले महत्वपूर्ण निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवम् आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसंगै यसअघि रगत लिने क्रममा रक्तसंचार सेवा प्रदायकले लिने गरेको शुल्क नलाग्ने भएको हो ।

यसअघि ब्लड व्याग र परीक्षणको नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेको थियो । ‘विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिंदा नि:शुल्क रगत उपलव्ध हुने भएको छ । कार्यविधि अनुसार एकजना विपन्न नागरिकले एक आर्थिक बर्षमा बढीमा १० वटासम्म व्लड व्याग सेट र रक्तपरिक्षणसहित रक्तसञ्चार सेवा नि:शुल्क पाउने छन् ।’, स्वास्थ्य मन्त्री निमा लामाका अनुसार डायलासिस गराईरहनु पर्ने जस्ता रगत तथा रक्ततत्वसहित बढीमा १० वटासम्म थप ब्लड व्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा नि:शुल्क प्राप्त गर्नेछन् । दुर्घटना, विपद् लगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा नि:शुल्क प्राप्त गर्ने उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा यस कार्यका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘हामी रगत लिन कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाउँछौं । बजेटको अभाव हुँदैन ।’, उनका अनुसार रक्तसञ्चार सेवा लिंदा सेवा प्रदायक संस्थामा विपन्न भएको स्व:घोषणा पत्र वा विपन्न परिचय पत्र वा गरिवको परिचय पत्रको प्रतिनिधि, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसंचारसहित उपचार गराइरहेको वा उपचार गर्ने अस्तालको सिफारिस पत्रको प्रतिलिपि उपलव्ध गराउनुपर्ने छ । दुर्घटना, विपद्लगायतका आकस्मिक अवस्थाका व्यक्तिको हकमा उपचारका लागि खटिएका चिकित्सकको सिफारिस आवश्यक पर्दछ । रक्तसञ्चार नि:शुल्क गर्दाको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना गर्ने जनाइएको छ ।

प्रदेश सरकारको यो निर्णयसँगै प्रदेशका वीर, पाटन जस्ता व्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाइटीमा रहेको ब्लड बैंकबाट नि:शुल्क रक्तसञ्चार सेवा उपलव्ध हुनेछ ।