२०८१ बैशाख १६, आईतबार    

चेपाङ बस्तीमा कुपोषणको कहर

२०८० असार १७, आईतबार ११:५८ बजे

दुई वर्ष पार भइसके पनि तौल साढे २ केजी मात्रै छ । ख्याउटे गाला र ठूलो भुँडी । तिघ्राको मासुमा मुजा परेको देखिन्छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ धिराङका सोमबहादुर चेपाङका चौथो सन्तान अशोकको अवस्था हो यो ।

उनका तीन अन्य सन्तानको स्वास्थ्य पनि गतिलो छैन । पाँचौं सन्तान जन्माउने तयारीमा रहेकी सोमबहादुरकी २३ वर्षीया श्रीमती सीतामायाले अहिलेसम्म कहिल्यै गर्भ जाँच गराएकी छैनन् ।

उनका चारै सन्तान झारफुकका भरमा घरमै असुरक्षित ढंगले जन्मेका हुन् । पाँचौं पटक गर्भ धारण गरेको ६ महिना पुगेकी सीतामायाको स्वास्थ्य पनि कमजोर छ । नियमित गर्भ जाँच गर्नुपर्ने, स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी सेवाको सुविधा र सुत्केरी प्रोत्साहन खर्चबारे उनलाई केही थाहा छैन ।

तीन सन्तानकी आमा राक्सिराङ–८ की २२ वर्षीया मंगलीमाया चेपाङ गर्भवती भएको ६ महिना भइसक्यो । उनले पनि अहिलेसम्म गर्भ परीक्षण गराएकी छैनन् । १३ महिनाकी छोरीको पोषण परीक्षण गराउँदा कडा कुपोषणले ग्रसित भएको पाइएको छ । १६ वर्षमा बिहे भएकी मंगलीले १८ वर्ष नपुग्दै पहिलो छोरी जन्माएकी थिइन् । तीन छोराछोरी घरमै जन्माएकी उनलाई पनि स्वास्थ्य संस्थामा सुत्केरी भत्ता पाइने र बच्चालाई बालभिटा खुवाउनुपर्छ भन्ने जानकारी छैन ।

सीतामाया र मंगलीमायाका सन्तान मात्र होइन, राक्सिराङका अधिकांश चेपाङ समुदायका बालबालिका कुपोषणले ग्रसित पाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

असार पहिलो साता राक्सिराड गाउँपालिकाभरि ६ देखि ५९ महिनासम्मका १५ सय १९ बालबालिकामा कुपोषणको लेखाजोखा (स्वास्थ्य परीक्षण) गरिएको थियो । त्यस क्रममा ९१ जनामा कडा र २ सय १८ बालबालिकामा मध्यम कुुुुुपोषण पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । ‘३६ जना स्वास्थ्यकर्मी खटिएर सात दिनमा परीक्षण गरिएको हो,’ कापरीले भने, ‘बालबालिकामा कुपोषणको अवस्था यति भयावह होला होला भन्ने अनुमान नै थिएन ।’ राक्सिराङमा ७१ वटा टोल छन् । प्रत्येक वडामा ४ जना स्वास्थ्यकर्मी बालबालिकाको कुपोषण परीक्षण गर्न खटिएका थिए । स्वास्थ्यकर्मीले बालबालिकाको तौल, उचाइ र पाखुराको नाप लिएर कुपोषण भए/नभएको छुट्याएका थिए ।

गत वर्षको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययन प्रतिवेदनअनुसार मकवानपुरका ११ महिना उमेरसम्मका १ सय ४७ बालबालिका कुपोषणले ग्रसित छन् । एक वर्षदेखि २३ महिना उमेरसम्मका ७६ जना बालबालिका कुपोषित रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । वाग्मती प्रदेशमा २३ महिनाभित्रका १ लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित छन् । कुपोषित बालबालिकामध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ रहेको जानकारी तथ्यांक अधिकृत भण्डारीले दिए ।

बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले तीन पटक बालभिटा वितरण गर्ने गरेको छ । तर मकवानपुरका स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलो पटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम छ । बच्चा जन्मिएको दुई वर्षभित्रमा ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मी बताउँछन् ।