२०८१ जेठ ५, शनिबार    

सहमति नजुटे विष्णु लामिछाने ‘व्याक’

२०७८ फाल्गुन १४, शनिबार ०९:५७ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर कार्यवाहक सभापति विष्णु लामिछाने सभापतिको दौडबाट व्याक हुने संकेत देखा परेको छ । पटक/पटक प्रयास गर्दा पनि संस्थापन पक्षबाट सभापतिमा लामिछानेको नाममा सहमति नजुटेपछि उनी मौन बस्ने सम्भावना बढेको हो ।

हाल उनीसँगै संस्थापन पक्षबाट पार्टी सचिव बुद्ध लामा र पूर्वसचिव आनन्दराम पराजुलीले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पराजुलीले शुक्रबार पत्रकार सम्मेलन मार्फत् उम्मेदवारी घोषणा गर्दा लामाले आज शनिबार दिउँसो गर्दैछन् ।

स्रोतका अनुसार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पहलमा लामिछानेको पक्षमा सहमति जुटाउने प्रयास भएको थियो । तर, लामा र पराजुलीवीच मतभेदहुँदा उनको पक्षमा सहमति नजुटेको हो । लामा र पराजुली दुवै मत माग्न सुरु गरिसकेका छन् । जसको कारण पनि सहमति हुने सम्भावना क्षणा बन्दै गइसकेको छ ।

संस्थापन पक्ष मकवानपुर बलियो भएपनि तीनजना उम्मेदवारहुँदा मत बाँडिने सम्भावना रहेको छ । जसको कारणले गर्दा पनि लामिछाने अप्ठेरोमा परेका हुन् । ‘प्रजातान्त्रि प्रक्रियामा जानलाई मलाई समस्या छैन । हामी संस्थापन पक्षबाट एकजना मात्र उम्मेदार बनाउन प्रयास गरिरहेका छौं ।’, लामिछानेले भने,‘सहमति भएको खण्डमा संस्थापन पक्षबाट म एकल उम्मेदवार हुनेछु ।’ लामिछानेले नजिकिँदै गरेको स्थानीय तह र संसदीय चुनावलाई मध्यनजर गरेर संस्थापन पक्षबाट अन्तिम समयसम्म पनि सहमतिको प्रयास हुने बताए ।

स्रोतका अनुसार संस्थापन पक्षका नेताको रुपमा परिचित डीना र बानियाँले अझैसम्म खुलेर कुनै पनि उम्मेदवारलाई सहयोग गर्ने वचन दिइसकेका छैनन् । जसको कारणले गर्दा पनि संस्थापन पक्षमा अझै सहमतिको सम्भावना भने टरिसकेको छैन ।