२०८१ बैशाख २०, बिहीबार    

‘युनाइटेडले बोलाए सित्तैमा खेल्छु’

२०७९ श्रावण २६, बिहीबार १३:४२ बजे

ट्रान्सफर बजारमा म्यानचेस्टर युनाइटेड अहिले फरवार्डको खोजीमा छ । यसक्रममा फरवार्ड जाभिएर हर्नान्डेजले आफ्नो पूर्व क्लबले बोलाएको खण्डमा सित्तैमा खेल्न तयार रहेको बताएका छन् ।

युनाइटेडले सिजनको पहिलो खेल नै हारेपछि क्लबमा थप दबाब परेको छ । घरेलु मैदानमा ब्राइटनले हराएपछि क्लबका नयाँ प्रशिक्षक एरिक टेन हागले पनि आलोचनाको सामना गर्नुपर्यो । उनले अनुभवी फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय लिएपछि समर्थकहरुले पनि प्रश्न उठाएका थिए । क्लबका अर्का फरवार्ड एन्थोनी मार्सियल घाइते भएका कारण खेलमा थिएनन् ।

रोनाल्डोसँग रियल म्याड्रिडमा सँगै खेलेका हर्नान्डेज हाल अमेरिकाको मेजर लिग सकरमा एलए ग्यालेक्सीका लागि खेलिरहेका छन् । उनले एक समय रियल म्याड्रिडबाट पनि लोनमा खेलेका थिए । त्यसबेला हर्नान्डेजले रोनाल्डो र ग्यारेथ बेलसँग आक्रमणको जिम्मेवारी पनि सम्हालेका थिए ।

हाल ३४ वर्ष पुगिसकेका फरवार्ड हर्नान्डेजले पछिल्लो पटक सेभियाका लागि युरोपमा खेलेका थिए । त्यसबेला खासै अवसर नपाएका उनले ९ खेलमा १ गोल गरेका थिए । सन् २०१० मा म्यानचेस्टर युनाइटेड पुगेका हर्नान्डेजले क्लबका लागि ३० गोल गरेका थिए ।