२०८१ बैशाख १३, बिहीबार    

शुक्रबारदेखि हेटौंडामा मेयर कप बुद्धिचाल

२०८० बैशाख २८, बिहीबार १४:१५ बजे

शुक्रबारदेखि हेटौंडामा हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

आयोजकले विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । हेटौंडा–११ स्थित स्मारक होटलमा हुने प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्नेछन् ।

नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एवम् प्रतियोगिता निर्देशक धरम लामाका अनुसार प्रतियोगितामा करिब ९० जना खेलाडीले सहभागिता जनाउनेछन् । मकवानपुरका २० र मकवानपुर बाहिरका ७० जना खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २१ विधामा पुरस्कार वितरण गरिने जनाएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने छ । चौथो र पाँचौलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । अन्य विधागत उत्कृष्टलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने जनाएको छ । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २० लाख २ हजार खर्च हुने आयोजकको अनुमान छ । मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको पनि पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।