२०८१ बैशाख ७, शुक्रबार    

बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट रु. ३६० पुग्यो

२०७९ पौष ५, मंगलबार १६:५६ बजे

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अन्डाको मूल्य बढ्न थालेको छ। 

बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु.३६० तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो।

 

यसअघि अन्डाको मूल्य प्रतिक्रेट रु. ३०० मा बिक्री हुँदै आएको थियो। संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु ४३५ पर्न आउँछ। उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अन्डा प्रतिक्रेट रु. ३०० मा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अन्डाको मूल्य उस्तै छ।’

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोख्रेलको भनाइ छ। एक वर्ष ६ महिनाअघि अन्डाको मूल्य प्रतिक्रेट रु.४०५ पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ रहेको थियो। नेपालमा अन्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन्।

हालैमात्र देशभरका धेरै कुखुरापालक व्यवसायी संगठित भएर अघि बढेका हुन्। पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषक बच्न सक्ने बताए। हाल नेपालमा दैनिक ४० लाख अन्डा उत्पादन हुँदै आएको छ।

अन्डाको महत्व बुझाउन सकेमा अन्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन्। बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ।

पोख्रेलले भने, ‘सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ।’ 

निजी क्षेत्रको अन्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु. १ खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।