२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस मकवानपुरको राजनीति नयाँ मोडमा, सभापतिमा विष्णु लामिछानेको पनि दावी

२०७८ माघ २९, शनिबार १२:२४ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको राजनीतिले नयाँ मोड लिएको छ । हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दावी गरेसँगै चुनाव नयाँ मोडमा पुगेको हो ।

कांग्रेस अधिवेशन फागुन १३ गतेका लागि तोकिएको छ । मकवानपुर सभापतिका लागि हालसम्म तीनजनाको दावी रहेको थियो । विष्णु लामिछानेले सभापति दावी गरेसँगै यस पदका आकांक्षीको संख्या चार पुगेको छ । यसअघि जिल्ला सचिव बुद्ध लामा, पूर्वजिल्ला सचिव आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले सभापति पदमा दावी गरिसकेका छन् ।

अधिवेशनको मिति शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिले तोकेसँगै हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘मलाई विश्वास छ । मेरो नाममा सर्वसम्मत हुनेछ । अन्यथा प्रजातान्त्रिक प्रक्रियाका लागि म तयार छु ।’, हेडम्वा न्युजसँग कुरा गर्दै उनले सर्वसम्मतका लागि पार्टी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रयास गरिरहेको बताए ।

‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ । साथीहरु सवैलाई पद पुग्छ । त्यसकारण सहमतिको प्रयास भइरहेको छ । मलाई विश्वास छ हुन्छ पनि ।’ उनी कांग्रेस संस्थापन अर्थात शेरबहादुर देउवा समूहका हुन् ।