२०८१ बैशाख १३, बिहीबार    

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते

२०७९ पौष ८, शुक्रबार ११:०५ बजे

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउँसो २  देखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने)को समय रहेको छ ।

दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन पुस १२ गते दिउँसो ४ बजे तय गरिएको छ । त्यसैगरी पुस १३ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त (मनोनयन)को समय राखिएको छ । सोही दिन बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० बजेसम्मको समय तय गरिएको छ । सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिने छ । पुस १३ गते दिउँसो १२ः३० देखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सकिने छ भने दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेबाट मतदान सुरु गरिने छ ।

 

मतदानको लागि निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लामवद्ध रुपमा रहेर मतदान गर्न सकिने छ । समितिले मतदानका लागि आफू निर्वाचित भएको प्रमाणपत्र अनिवार्य गरेको छ । निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने समितिले जनाएको छ भने मतगणना समाप्त भएपछि मतगणनाको नतिजा घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ । समितिको सदस्यहरूमा राजु श्रेष्ठ, ऋषिराम घिमिरे, गंगा दाहाल र सानुकान्छा श्रेष्ठ रहेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धामा रहेका छन् । दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेसले प्रदेशसभामा ३७ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट जितेको हो ।