२०८१ बैशाख ६, बिहीबार    

हेडम्वा=हेटौंडा

२०७८ माघ १, शनिबार १२:२३ बजे

द्वापरको अन्त्यमा पाण्डव र कौरवको मुख्य कथा प्रसंगको ग्रन्थलाई महाभारत भनिन्छ । महाभारत ग्रन्थ संसारकै सवैभन्दा विशाल ग्रन्थ हो । पाण्डव र कौरव एउटै कुलका भएर पनि एक आपसमा बाल्यकालदेखि नै वैमनस्य थियो । कौरव पाण्डवलाई देखिसहदैनथे । पाण्डवको समूह नष्ट गर्न सकेमा आफूहरु निकै सक्षम हुनेछु भन्ठान्थे । विष खुवाउने, लाहाको घरमा राखेर राति आगो लगाउनेजस्ता जघन्यअपराध गरेर पनि पाण्डव बँच्दै आएका थिए । लाक्षागृहबाट सुरुङमार्गहुँदै भागेका पाण्डवहरु घुम्दैडुल्दै शिवालिक पर्वत पार गरी कर्णावती (कर्रा), ऐरावती/दुग्धमती (रापती) संगमको आसपास जंगलमा आइपुगेछन् । त्यो जंगल राक्षसराज हेडम्व र उसकी बहिनी हेडम्वाको बासोबास स्थल रहेछ ।
मानवभक्षी हेडम्वले बहिनीलाई आफ्नो क्षेत्रमा आइपुगेका मानिसको मासु खाने प्रस्तावको साथ पाण्डवहरु विश्राम गरिरहेको ठाउँमा पठाएछ । त्यति वेला भीमसेन आफू जागाबासी आमा, दाजु भाइहरुलाई निदाएको अवस्थामा रक्षा गरिरहेका थिए । हेडम्वाले भीमसेनको जिउडाल र रुपदेखि मोहभई आफ्नो र दाइ हेडम्वको बारे जानकारी गराइछ । आफ्नो दाजु हेडम्व साह्रै बलियो र मानवभक्षी भएको तथा आफू यतिवेला त्यहाँको कोही पनि मानवको हिंसा हुन नदिने त्यसको सट्टामा भीमसेनसँग विवाह गर्न पाउनुपर्ने प्रस्ताव राखिछ । भीमसेनले राक्षराज हेडम्वलाई युद्धमा हराउछुभन्दै गर्दा हेडम्व गर्जिदै त्यहाँ आइपुेको र दुवैवीच घमासान युद्ध चलेछ । भीमसेनले हेडम्वलाई बध गरेपश्चात् आमा कुन्तीको आदेशअनुसार हेडम्वाको प्रस्ताव स्वीकार गर्ने क्रममा हेडम्वाले आसुरी वृत्ति त्याग्नुपर्ने, एउटा सन्तान जन्मेपश्चात् सम्बन्धविच्छेद हुने शर्तमा भीमसेनसँग हेडम्वाको विवाह भएछ ।
हेडम्वाले आसुरी वृत्ति त्यागी दैवीक आचरण अवलम्बन गरेकी र घटोत्कचको जन्म भएपश्चात् पाण्डव त्यहाँबाट अन्यत्र गएको र उनी त्यही वनमा तापसी जीवन यापन गर्दै बसेकी हुन् । किम्बदन्ती अनुसार उनै हेडम्वा तपस्यामय जीवन विताइरहेकी र हेडम्वाकै नामबाट अप्रभ्रंशित हेटौंडा नामाकरण भएको भन्ने मान्यता रही आएको छ । हेडम्वाले दैवीशक्ति प्राप्त गरी तपस्या गर्दै रहेकीहुँदा जंगलमा देवीको अवस्थितिलाई वनदेवी भनी भनिँदै आएकोमा पछिल्लो समयमा राजाको सिपाहीले पैल्याएको वनदेवी अर्थात भटवनदेवीबाट जनजीब्रोले हाल आएर भुटनदेवी भनिएको र उनै भुटनदेवी पैराणिक युगकी हेडम्वा हुन् भन्ने गरिन्छ ।
अर्को मत अनुसार भुटनदेवी अर्थात पृथ्वीकी देवी एवम् भू–तन–देवी भन्दै जाँदा पृथ्वी (माटो) झैं तन (शरीर) धारी जीवको आस्थाकी देवी भनेर भू–तन–देवीबाट जनजिव्रोले भुटनदेवी भनिने गरिएको पनि भनिन्छ ।
पौराणिक काल र उत्तर पौराणिककालमा हेडम्वाको बासस्थानबाट अपभ्रंशित हेटौंडा नामाकरण भएको भन्ने व्यहोरा माथि उल्लेख भै सकेको छ । तथापि हेटौंडा नामाकरणको नालीबेली यतिमै सीमित छैन । यसलाई अझै खोजीनीति गर्नु प्रासंगिक ठहरिनेहुँदा यस आलेखमा त्यो प्रयास गर्न कञ्जुसी गरिएको छैन । जसअनुसार हेटौंडाको नामाकरणको अर्को प्रसंग पनि यहाँ प्रस्तुत गर्दछु ।
प्राकृत भाषाको ‘हेट्ट’ शब्दबाट तद्भवभै ‘हेट’ शव्दको अर्थ, तलको छिँडी, पर्वतको फेदी, खुंज, कछार हुन्छ भने ‘हेट’ शब्दमा औंडा प्रत्यय लागेर बनेको शब्द हो, हेटौंडा । नेपाली वृहत् शब्द कोष अनुसार हेटौंडा शब्दको अर्थ पर्वतको पुछारको ठाउँ, नारायणी अञ्चलको एक प्रशिद्ध औद्योगिक क्षेत्र भन्ने उल्लेख भए अनुसार हेटौंडा शब्दको नामाकरणमा यो थप विवरण यहाँ प्रस्तुत गरियो ।
कुनै ठाउँको नामाकरण सम्वन्धमा यो मात्र हो भन्न सकिन्न । किम्बदन्ती एउटा पाइन्छ, कारण अर्के हुन सक्छ । किम्वदन्ती एवम् वास्तविकता र आँकलन आपसमा कारणसँग मेल खाँदैन । तथापि हामी यस्तो किम्वदन्ती पनि विर्सन सक्दैनौं । परम्परादेखि चलिआएको चलन वा व्यवहार चटक्क त्याग्न सकिन्न । क्रमिक सुधार गर्न सकिन्छ । सुधारिएको विषय तत्कालिन समयले ग्रहण गर्दछ । समयको निर्णय महत्वपूर्ण हुन्छ । हेटौंडा नामाकरण पनि यही अनुरुप अनुभूति गर्दछौं ।
विसं २०११ साल श्रावण ११ गतेको भीषण बाढीपहिरोले धोर्सिङ र भैंसे क्षेत्रमा भौतिक क्षति भएपश्चात् त्यो क्षेत्र र अन्य पहाडी भू–भागबाट बसाइसराइको प्रभाव हेटौंडामा व्यापक जनघनत्व वृद्धि भयो । त्यसपछि लामखुट्टेको टोकाइबाट फैलने औलो रोगको निर्मुल पार्ने अभियान सुरु गरियो । घरगोठमा डीडीटी पाउडरको झोल स्प्रे गर्ने कार्यक्रम मित्रराष्ट्र अमेरिकाको सहयोगमा व्यापकरुपमा कार्यान्वयन गर्दा औलो रोग नियन्त्रण भई मानिसहरुको बसाइ सहज हुन गयो । छिमेकी राष्ट्र भारतको रक्सौलबाट वीरगञ्जहुँदै हेटौंडा–पालुङ–काठमाडौं सडक यातायात सुचारु भयो । पूर्वपश्चिम महेन्द्र राजमार्गको पनि निर्माण सुरु भयो । हेटौंडा–उत्तर दक्षिण/पूर्वपश्चिम सवैतिरको केन्द्रविन्दु बन्न पुग्यो । मुलुककै सवभन्दा ठूलो औद्योगिक क्षेत्र यहीँ बन्यो । ऐतिहासिक समयकै महत्वपूर्ण मकवानपुर र वर्तमानमा विभिन्न सुविधाहरु थपिएपछि अरु हेटौंडाको चर्चा झन व्यापक बन्न पुग्यो ।
जिल्लाको सदरमुकाम भीमफेदीबाट २०४२ सालमा हेटौंडामा स्थानान्तरण भएपछि राजनीतिकरुपमा हेटौंडाको गरिमा झन् वृद्धि भयो । टिम्बर कर्पोरेसन अफ नेपालको प्रबन्धमा काठ चिरान गर्ने समिल स्थापना र क्रमश उद्योगधन्दाको विकास भएपछि हेटौंडा अरु चम्कियो । कुनैपनि क्षेत्रको सर्वाङ्गीण विकास तव सम्भव हुन्छ जव त्यहाँको सामाजिक, आर्थिक, राजनैतिक एवम् भौतिक विकास हुन्छ । शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, औद्योगिक एवम् यातायातको निर्वाध रुपमा समुन्नति हुन जरुरी हुन्छ । आजभन्दा ६० वर्ष अघिको हेटौंडाकोस्थिति प्रत्यक्ष अनुभव गरेको यो लेखकले धेरै आरोहअवरोह देखेकोछ भन्नु पर्दा कति हिच्किचाउनु पर्दैन । हेटौंडामा इट्टाको गाह्रो र टिनको छाना भएको घर औंलामा गन्न सकिन्थ्यो, त्यतिवेला । वर पीपल चौतारीमा सदावहार एउटा पानीको धाराबाहेक जरुवा वा कुवा र खोलाकै पानी उपयोग गरिन्थ्यो ।
वाग्मती प्रदेशको स्थायी राजधानी रहेको वर्तमान हेटौंडामा ठूला सिमेन्ट कारखाना नै तीनोटा छन् । सडक, पुलपुलेसा, खेल मैदान, विद्यालय, महाविद्यालय थुप्रै बनेका छन् । त्यतिवेला जिल्ला भरकै २ वटा माध्यमिक विद्यालय (एउटा भीमफेदीमा र अर्को हेटौंडामा) थियो । फरेष्ट्री कलेज (वनविज्ञान अध्ययन संस्थान) पहिला भीमफेदीमा र स्थानान्तरित भै हेटौंडामा खुलेको हो । नीजि स्रोतमा मकवानपुर क्याम्पस खुल्दा कति धेरै फुर्केका थियौं ।
अहिले वृहत्तर हेटौंडा क्षेत्र आसपासका गाउँवस्ती गाभेर बनाइएको छ । पहिलेको हेटौंडा भन्नाले हालको बुद्धचोकबाट लगभग १/१ कोश पूर्वपश्चिम उत्तर र दक्षिणको क्षेत्रमात्रै थियो । एसियाकै नमूना पहिलो सुरुङ मार्ग, टिम्बर कर्पोरेसन, नागदह जस्ता सम्पदाको लोपोन्मुख हुँदाहुँदै कुष्माण्ड, त्रिवेणीधाम, शहीद स्मारक, गुम्बाडाँडा मूर्ति बगैंचा, जुरेथुम आध्यात्मिक क्षेत्र, वनविज्ञान जैवीक संग्रहालय आदिले हेटौंडालाई चम्किलो बनाउँदैछ ।
पुछारमा हेटौंडा नामाकरणसँग पौराणिक कालमै सम्बन्ध गाँसिएको हेडम्बाकै नामबाट सुरु गरिन लागिएको अनलाइन खबरले मकवानपुर जिल्लाकै पुरानो झझल्काहरु क्रमश: प्रकाशन गर्दै आफ्नो छुट्टै वर्चस्व कायम गरी जीवन्त रहिरहोस् भन्ने शुभेच्छाका साथ यो आलेखको विट मार्दछु ।