मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि जनप्रतिनिधिबीचको विवाद अदालतमा पुगेको छ ।
बागमती गाउँपालिकाको उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित ४ जना वडा अध्यक्षले १० असारमा प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयन तथा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइने बजेट रोक्न उच्चअदालत पाटनको हेटौंडा इजलासलमा रिट निवेदन दर्ता गराएका छन् ।
उपाध्यक्ष तिमल्सिनासहित बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, वडा नम्बर ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, ७ नम्बरका वडाअध्यक्ष उत्तरबहादुर भोलनले हेटौंडा–५ का प्रभाकर रेग्मीलाई वारेस नियुक्त गरी आइतबार अदालतमा रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति दफा ६६ को श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति र दफा ६७ बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन नै नगरी गैरकानुनी ढंगबाट नीति, कार्यक्रम र बजेट ल्याउन लागिएको दाबी गरिएको छ ।