२०८१ बैशाख २२, शनिबार    

कुटपिट गरी हत्या गर्ने दुईजना घरबाटै पक्राउ

२०८० पौष २९, आईतबार १८:३० बजे

मानिसको कुटपिट गरी हत्या गरेर १७ वर्षदेखि फरार रहेका दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेका छन् । उनीहरु लुकेर बसिरहेका अवस्थामा प्रहरीले

आइतबार दुवै जनालाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको थियो । पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकिएको थियो ।

जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासको क्रममा आइतबार घरबाटै पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत मकवानपुर आइतबार नै उपस्थित गराएको छ ।