२०८१ बैशाख १४, शुक्रबार    

प्रहरीको ‘गो होम’ अभियान : हराएका २३३ जना भेटिए

२०७९ पौष ७, बिहीबार १६:५८ बजे

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हराएका मानिसहरुको खोजी गर्न ‘गो होम’ अभियान सञ्चालन गरेको  छ । गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा सञ्चालन गरिएको उक्त  अभियानअन्तर्गत मंसिरसम्ममा २ सय ३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको छ ।

हराएका मानिसको संख्या तथा फेला पर्ने मानिसहरुको संख्याको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा पहिलो नम्बरमा रहेको छ । दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेको छ भने मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना मानिस फेला पारेको छ ।

काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९/९ जना तथा नुवाकोटले ७ जना मानिस यस अभियानअन्तर्गत खोजी गर्दा भेट्टाएको छ ।

अभियान सुरु हुनुअघि ८ सय २३ जना हराएका मानिसहरू फेला पर्न बाँकी रहेकोमा अभियान सुरु भएपछि प्रहरी गस्ती, प्रहरी र आफन्तको संयुक्त प्रयासबाट २ सय ३३ जना हराएका मानिसहरूलाई फेला पारिएको हो । प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाबाट हराएका मानिसको संख्या अझै ५ सय ९० रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।