२०८२ जेठ ३, शुक्रबार    

कालाखेतीद्वारा उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बसेका विरामीको उद्धार

२०८१ जेठ ५, शनिबार १८:२९ बजे

उपचारको शुल्क तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज नभएका मनहरी गाउपालिका–८ का चन्द्रबहादुर बोटेको सम्पूर्ण उपचार खर्च गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले चुक्त गरिदिएका छन् ।

सडक दुर्घटनामा घाइते भएका चन्द्रबहादुरको निधार र ढाडमा गम्भीर चोट लागेको थियो । चितवनस्थित भरतपुरको एभरेष्ट अस्पतालमा उपचारपश्चात् डिस्चार्ज हुने समयमा एकलाख ३३ हजार रुपैयाँको विल भुक्तानी गर्न नसकेपछि उनी समस्यामा परेका थिए ।

गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो सेवासुविधा बापत् प्राप्त रकमबाट ७० हजार रुपैयाँ र गाउँपालिकाबाट ५० हजार रुपैयाँ रकम उपलब्ध गराएर उनको डिस्चार्ज गरी घरसम्म पुर्‍याइ दिएका हुन् । ‘गाउँपालिकाको आग्रहपश्चात् दश प्रतिशत अस्पतालले पनि छुट दियो ।’, अध्यक्ष कालाखेतीले भने ।

चन्द्रबहादुरलाई ठक्कर दिने मोटरसाइकल अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन । जसको कारण उसको उपचारमा समस्या भएको थियो ।

लोपोन्मुख तथा सिमान्तकृत बोटे समुदायको बसोबास यस पालिकामा रहेको छ । बोटे समुदाय आफ्नो राप्ती खोलामा माछा मारेर आफ्नो गुजारा चलाउने गरेका छन् ।