२०८१ बैशाख १७, सोमबार    

मनहरीमा १४१ को नि:शुल्क स्वास्थ्य परीक्षण

२०८० माघ २०, शनिबार १८:३६ बजे

मकवानपुरको मनहरी गाउँपालिका ५ मा १४१ जनाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।

रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर भएको हो । मनहरी गाउँपालिका ५ नम्बर वडाको सहकार्य एवम् मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो । शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलो अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य शिविरका लागि मनहरी गाउँपालिकालाई छनौट गरेकोमा रेडियो मकवानपुरलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि कालाखेतीले गाउँपालिकाले गरिब विपन्नको निशुल्क स्वास्थ्य वीमालाई निरन्तरता दिइरहेको बताए ।

घरघर पुगेर भिलेज प्रोफाइल बनाएको र त्यसैमार्फत अनुदान, सहयोग लगायतका कार्यक्रम सन्चालन भैरहेको उनको भनाई थियो । भिलेज प्रोफाइलको सहायताले अब वास्तविक गरिब बिपन्नले मात्र अनुदान प्राप्त गर्ने कालाखेतीको दावी थियो ।

मनहरी गाउँपालिका ५ नम्बर वडाका कार्यबाहक अध्यक्ष संजिता परियारले रेडियो मकवानपुरसँगको सहकार्यमा वडामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सन्चालन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा वडा सदस्य सरला थापा र बुद्धिबहादुर स्याङ्तान, वडा सचिव बिदुर पाठक, रेडियो मकवानपुर सन्चालक समिति सदस्य यतिराज सापकोटा, दिव्यतारा सहकारीका सहव्यवस्थापक इश्वरी शिल्पाकार, सहकारी अस्पतालका डा. विजय शाह कानु र डा. अबिनेश यादव, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि जनकराज उप्रेती, टोल विकास संस्थाका अध्यक्ष गजाधर सुवेदी लगायतको आतिथ्यता थियो ।

रेडियोको वार्षिकोत्सव अन्तर्गत आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला हुनेछ भने सोमबार सप्ताहव्यापी कार्यक्रमको समापन एवम् सामुदायिक सम्मान कार्यक्रम हुने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।