२०८१ बैशाख १५, शनिबार    

हेटौंडाको मेयरमा रानाको दावी, एमालेमा खैलाबैला

२०७८ चैत्र २२, मंगलबार १३:०९ बजे

नेकपा एमाले मकवानपुर इञ्चार्ज रामेश्वर रानाले हेटौंडा उपमहानगरपालिकाको मेयरमा दावी गरेपछि यतिबेला पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

एमालेभित्र बौद्धिक र शालिन नेताको छवि बनाएका रानाले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयरमा आफ्नो पनि दावी रहेका निकटका कार्यकर्तालाई बताएका छन् । उनीसँगै मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल र हालका मेयर हरिबहादुर महतको दावी रहँदै आएको छ । रानाले आफूले टिकट पाउने सम्भवना प्रवल रहेको र सहयोग गर्न कार्यकर्तालाई आग्रह गरिसकेका छन् ।

उनी निकट कार्यकर्ताले उनको पक्षमा माहौल सिर्जना गर्न र मतदान गर्न समेत अपिल गर्न थालेका छन् । एमाले विभाजन भएको अवस्थामा पार्टीभित्र कार्यकर्तालाई व्यवस्थापन गर्न र हालका अध्यक्ष एकालाल श्रेष्ठलाई सर्वसम्मत नेतृत्व प्रदान गर्न रानाले विशेष भूमिका खेलेका थिए । उनको विशेष भूमिका कारण पनि श्रेष्ठ रानाकै पक्षमा लाग्ने सम्भावना रहेको बताइन्छ ।

अध्यक्ष श्रेष्ठले भने चैत २५ गतेभित्रमा स्थानीय तहको उम्मेदवारी टुंगिने बताए । ‘यस विषयमा छलफल भइरहेको छ । निर्णय भएको छैन । पार्टीभित्र योग्यता पुगेको नेताले पदको दावी गर्नु स्वभाविक पनि हो ।’, श्रेष्ठले भने । राना मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् । उनले तत्कालिन जिल्ला विकास समिति सभापतिको भूमिका समेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएपछि रानाको राजनीति यात्रामा पूर्णविराम लागेको थियो ।