२०८१ बैशाख १७, सोमबार    

सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०८० आश्विन १५, सोमबार १७:३९ बजे

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि आक्रमक रुपमा प्रहार भइरहेको बताएका हुन् ।

‘गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैं चुपको यथास्थिति कायम हुन सक्दैन’, उनले भने । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई जारी राख्ने उनले पटकपटक दोहोर्‍याए । ‘सरकारमा पनि रहने र तैं चुप र मैं चुप गरेर खाली सरकार मात्र चलाइरहने धन्दा हामी गर्दैनौं’, उनले भने । उनले वर्तमान सरकारको सुशासनको अभियानबाट जनतामा आशा र विश्वास बढिरहेको दाबी गरे ।

‘सरकार विशिष्ट कार्यभारसहित अगाडि बढिरहेको छ । सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिका कार्यभार हामीले लिएका छौं’, उनले भने । गृहमन्त्री श्रेष्ठले करिब ६ दशक लामो संघर्ष गरेर संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयन गर्दै सरकार क्रमशः अगाडि बढ्ने बताए ।

उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबिन भइरहेको बताए ।