२०८१ जेठ ५, शनिबार    

उपमहानगरको कार्यपालिका वैठकमा एमाले लचिलो, विषयगत समिति गठन

२०७९ जेठ २२, आईतबार १९:२६ बजे

नेकपा एमाले लचिलो बनेपछि हेटौंडा उपमहानगरको कार्यपालिकाको पहिलो बैठक आइतबार बिहान बसेको छ । बिहीबार बिहानका लागि बोलाइएको बैठकमा नेकपा एमालेले कार्यपालिकामा आफ्नो बहुमत रहेको दावी गर्दै विवाद निकालेपछि स्थगित भएको थियो ।

कानुनीरुपमा आफू तल पर्ने देखिएपछि नेकपा एमाले आइतबार बिहानको वैठकमा उपस्थित भएको हो । कार्यपालिका वैठकले प्रदेश सरकारको पूर्वाधार निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाको ६ र १६ नम्बर वडामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गरेर पठाएको पत्रका आधारमा ६ र १६ नम्बर वडामा रहेको जग्गा उपलब्ध गराउने निर्णय गरिएको कार्यपालिका सदस्य सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बैठकले विषयगत समिति समेत गठन गर्ने निर्णय गरेको छ । कार्यपालिका वैठकले उपमहानगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपप्रमुखको संयोजकत्वमा राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, योजना अनुगमन तथा फरफारक समिति रहन्छ । पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र वित्त व्यवस्थापन तथा सुशासन समितिमा वडा अध्यक्षहरुमध्येबाट संयोजक चयन गर्ने सहमति भएको बताइएको छ । बैठकले राष्ट्रिय भूमि आयोगअन्तर्गत कार्य गर्न भूमि सेवा इकाईमा करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ ।

एमालेभित्रका आन्तरिक विवादका कारण विषयगत समिति सदस्यको नाम उपलब्ध गराउन नसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेभित्र बलियो समितिमा आफू जानुपर्ने लविङमा कार्यपालिका सदस्यहरु रहेका छन ।

बैठकमा नगर प्रमुखको पहिलो निर्णय भने पेश हुन सकेन । एमालेले विपन्न परिवारलाई नि:शुल्क पानी, विद्युत र स्वास्थ्य वीमा गरिदिने विषयमा विवाद निकालेपछि निर्णय नभएको हो । नगर प्रमुख मीना कुमारी लामाले आगामी आर्थिक बर्षको बजेटमा लागु हुने गरी आफ्नो पहिलो निर्णय नीति तथा कार्यक्रममै समेटेर लैजाने बताइन्