२०८१ बैशाख ३१, सोमबार    

मकवानपुरका १२५ स्वास्थ्यकर्मी कोरोना संक्रमित, स्वास्थ्य संस्थामा जनशक्ति अभाव

२०७८ माघ १०, सोमबार १९:०८ बजे

हेटौंडा/ मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोना संक्रमण र खोपको अवस्थाबारे जानकारी गराउँदै कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मी संक्रमित भएको बताएका हुन् । उनका अनुसार सबैभन्दा बढी हेटौंडा अस्पतालका ५९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ  । मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका २२ जना, हेटौंडा उपमहानगरपालिकाभित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका १६ जना, कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत् ४ जना स्वास्थ्यकर्मीमा कोरोना पाइएको हो ।

‘संक्रमित पाइएका १/२ जना स्वास्थ्यकर्मी त हरेक स्वास्थ्य संस्थामा छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी संक्रमित भएका कारणले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव हुन थालेको छ ।’ जिल्लामा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ८२ प्रतिशत पुगेको छ भने ६१ प्रतिशतले दोस्रो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा ३ दिनमा २ हजार ५ सय जनाले खोप लगाएको विवरण गुरागाईंले प्रस्तुत गरेका थिए । दुवै गाउँपालिकामा शुक्रबारदेखि घरदैलोमार्फत् खोप अभियान सञ्चालन गरिएको छ ।