२०८१ जेठ १, मंगलबार    

२०२४ सम्मलाई पुग्ने लाइसेन्सका आवेदन आइसक्यो : मन्त्री दाहाल

२०७८ चैत्र १४, सोमबार १५:०९ बजे

वाग्मती प्रदेशबाट २ लाख १५ हजारभन्दा बढीले लाइसेन्सका लागि आवेदन दिएको र हालकै अवस्थामा सेवा प्रवाह भए २०२४ सम्म पनि लाइसेन्स वितरण हुन नसक्ने प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताएका छन् ।

‘यस विषयमा संघीय सरकारलाई जानकारी गराएका छौं । समन्वय भइरहेको छ ।’, उनले लाइसेन्स वितरण सहज नभएको खण्डमा प्रदेश तहबाटै लाइसेन्स जारी गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दाहालले यातायात क्षेत्रलाई विचौलिया मुक्त बनाएर सेवा प्रवाहलाई मर्यादित र व्यवस्थित बनाउन आफूले काम गरिरहेको दावी गरे । ‘विशेष गरी लाइसेन्स वितरण, नवीकरण र जाँचपास गर्दा यातायात क्षेत्रमा समस्या देखिएको छ । हामी त्यसको समाधानका लागि आन्तरिक गृह कार्य गरिरहेका छौं । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा देखिएको विकृति अन्त्य गर्न कदम चालिसकेको छौं ।’

‘एकान्तकुनाका दुई कर्मचारीलाई हामीले कारबाही गरिसकेका छौं । अन्यलाई पनि गर्नेछौं ।’, उनले लाइसेन्सको ट्रायललाई व्यवस्थित गर्न ट्रायल सेन्टरको विस्तार गर्न आवश्यक कानुन निर्माण गरिएको दावी गरे ।