२०८१ बैशाख १५, शनिबार    

हेटौँडा अस्पतालका १४४ कर्मचारी हटाइँदै

२०८० असार ३, आईतबार १८:३५ बजे

आर्थिक सङ्कटका कारण गत चालु आर्थिक वर्षको भन्दा कम बजेट प्राप्त भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले कर्मचारी कटौतीको तयारी गरेको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमा समस्या हुने भएपछि प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि चालु आर्थिक वर्षमा नियुक्त गरिएको १४४ जना प्रशासनिक र प्राविधिक जनशक्ति कटौतीको तयारी गरिएको हो ।  

प्रतिष्ठानले हेटौँडा अस्पतालमा सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालु आर्थिक वर्षमा लोक सेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरण गर्न नसक्ने भन्दै अस्पतालबाट कर्मचारी हटाउने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको बैठकले बजेट अभावका कारण चालु आर्थिक वर्षमा नियुक्त गरिएको कर्मचारी हटाउने निर्णय गरेको हो ।

प्रतिष्ठानका लागि सङ्घीय सरकार र प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा कम बजेट विनियोजन गरेका र कर्मचारीलाई तलब भत्ता वितरणमा नै समस्या हुने भएकाले हटाउनु पर्ने अवस्था आएको उनले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रतिष्ठानको लागि १९ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने हेटौँडा अस्पतालको सेवा विस्तार तथा उपकरण खरिदका लागि थप ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सङ्घीय सरकारबाट यस वर्षका लागि प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि ९७ करोड रुपैयाँ विशेष अनुदान प्राप्त गरेको थियो । त्यस्तै सङ्घीय सरकारले प्रतिष्ठानका लागि ६ तले अस्पताल निर्माण गर्न ३२ करोड रुपैयाँ विशेष अनुदान मार्फत बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको छ । प्रदेश सरकारले बजेट भाषण मार्फत आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त ७ करोड १९ लाख रुपैयाँ कटौती हुँदा अस्पतालमा विस्तारित सेवा र गुणस्तर लागि खटाइएका कर्मचारी कटौती गर्नु परेको रजिष्ट्रार प्रसाईँले बताए ।

उनका अनुसार सङ्घीय सरकार र प्रदेश सरकारबाट चालु खर्च तर्फ प्रतिष्ठान वा अस्पतालमा कुनै पनि शीर्षकमा बजेट प्राप्त नभएकाले कर्मचारी हटाउनु पर्ने बाध्यता आएको हो । सङ्घीय सरकारबाट प्रतिष्ठानको शैक्षिक भवन र अस्पतालको भवनका लागि चालु आर्थिक वर्षका लागि प्राप्त अनुदान बाहेक अन्य बजेट प्राप्त नभएको उनले बताए ।

‘चालु आर्थिक वर्षको तुलनामा प्रतिष्ठानको बजेट कटौती भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा छुट्याएको बजेट पर्याप्त छैन । त्यसैले चालु आर्थिक वर्षमा नियुक्त गरिएका १४४ जना कर्मचारी हटाउने निर्णय भएको छ । सो सम्बन्धी सूचना जारी गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘१४४ जना कर्मचारी मध्ये ८० प्रतिशत कर्मचारी प्राविधिक छन् । हेटौँडा अस्पतालको सेवा विस्तार पछि गुणस्तर वृद्धिका लागि सो कर्मचारी खटाइएको थियो । तलब भत्ता नै खुवाउन नै बजेट प्राप्त नभएपछि हटाउने निर्णयमा पुगेका हौँ ।’

रजिष्ट्रार प्रसाईका अनुसार कटौती हुने कर्मचारीहरुमा एबिबिएस डाक्टर १५ जना, आयुर्वेदिक चिकित्सक एक, नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियन लगायत प्राविधिक कर्मचारी १०३ जना र प्रशासन तर्फ कार्यरत २५ जना रहेका छन् । टेन्डरबाट  अस्पताल सरसफाईमा ३५ र सुरक्षाका लागि खटाइएका २५ गरी ६० जना कर्मचारी समेत हटाइने उनले बताए । हेटौँडा अस्पतालमा कार्यरत ति कर्मचारीका लागि वार्षिक रूपमा १० करोड रुपैयाँ बजेट खर्च हुँदै आएको रजिष्ट्रार प्रसाईँले बताए ।