२०८१ जेठ ४, शुक्रबार    

क्याम्पाडाँडामा पटका आतंक

२०७८ फाल्गुन २८, शनिबार २०:२१ बजे

हेटौंडा/ प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता–२०७८ को नाममा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा पटका आतंक भएको छ ।

आयोजक वाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले उद्घाटन समारोहमा अतिशबाजीको नाममा आवश्यकभन्दा धेरै पटका पड्काएको हो । करिब २० मिनेट आयोजकले मैदानमा पटक पड्काएको थियो । रकेट पटक पड्काएर केही समय उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएको आयोजकले मैदानमा समेत आवश्यकभन्दा बढी पटक पट्काएर पट्यार लाग्दो अवस्था सिर्जना गरेको हो ।

       मैदानभित्र जथाभावी पटका पड्काउँदा प्रहरी भने चुपचाप हेरिरहेको थियो । अन्य समयमा पटका पड्काउँदा प्रहरीले आम सर्वसाधरणलाई समाउने गरेको छ । आयोजकले जथाभावी मैदानमा पटका पड्काउँदा मैदान समेत विग्रिएको छ । उक्त मैदानमा फुटबल खेल सञ्चालन हुनेछ ।

खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा ओलम्पियन वैकुण्ठ मानन्धरले ओलम्पिक टर्च बोकेका थिए । उनीसँगै ओलम्पियन दीपक विष्ट, संगीना वैद्य र कान्छिमाया कोजु सहभागी थिए । सेना, प्रहरी, खेलाडी तथा विद्यार्थीहरुले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स, बक्सिङ र व्याड्मिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । खेलहरु मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।

       मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ । काठमाडौंमा चैत ६ गतेदेखि एथ्लेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङको प्रतियोगिता हुनेछ । प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ ।  प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।