२०८१ बैशाख ७, शुक्रबार    

अब पुरुषसँग होइन, आफैंसँग प्रतिस्पर्धा गर्ने समय आएको छ

२०७८ फाल्गुन २४, मंगलबार ११:०४ बजे

‘सामाजिक न्याय लैङ्गिक समानता दिगो विकासको सुनिश्चिता नेपालको आधार’ भन्ने मूल नाराका साथ यसवर्ष मनाइँदै गरेको ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

अन्तर्राष्ट्रिय नारी १९०९ बाट संसारभर मनाउन सुरु गरिएको थियो । नारी दिवसको सन्दर्भमा यसवर्ष अगाडि सारिएको नाराले सामाजिक न्याय लैङ्गिक समानता दिगो बिकासको सुनिश्चिता समृद्ध नेपालको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न आधार तयार पार्ने विश्वास गरिएको छ ।

यस दिवस विशेष गरी राजनीतिक तवरबाट शुरु भएको भएता पनि अहिले आएर महिला अधिकार, सशक्तिकरण र लैङ्गिक समानताको सवालहरूमा केन्द्रीत हुन थालेको छ । आम महिलामा जागरण ल्याउने र पिछडिएको अवस्था छैनौं भन्ने सन्देश दिन हामीले वर्षेनी नारी दिवस मनाइ रहेका छौं ।

नेपालमा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानीलाई मन्त्रिमण्डलमा समावेश गरी महिलाको सहभागिताको सन्देश दिँदै समावेशीतालाई अगाडि बढाइएको थियो । अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुगिसकेका छन् ।

अब हामी आधा अकाश हौं भनेर ३३ प्रतिशत अधिकार लिएर मात्र सीमित भएर बस्नुहुँदैन । हरेक क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्दै संविधानप्रदत्त समानताको हक अनुसार अगाडि बढ्न जरुरी रहेको छ । हामीले अब पुरुषसँग प्रतिस्पर्धा गर्ने होइन । आफैंसँग प्रतिस्पर्धा गर्ने समय आएको छ ।

नेपालको हरेक राजनीतिक र सामाजिक परितर्वनमा महिला अग्रपंक्तिमै रहेर उभिएका छन् । हामी नारीहरुले समानतामूलक समाज निर्माण गर्न पिछडिएको महिलाहरुसँग हातेमालो गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता पनि । पिछडिएका महिलाको आर्थिक, सामाजिक र चेतनाको स्तर बढाउनु हामी सामू रहेका प्रमुख चुनौती हो । त्यसका लागि आजैबाट हामी सवैले आआफ्नो ठाउँबाट केही न केही योगदान गर्नुपर्ने हुन्छ ।

तपाईंहरु सवैलाई थाहा नै छ स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ । सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइसकेको छ । नेपालको संविधानमै स्थानीय तहमा महिला सहभागिताको ग्यारेण्टि गरेको छ । यस्तो अवस्थामा अब हामी उप वा अरुले नरुचाएको पदमा मात्र सीमित भएर निर्वाचनमा होमिनुपर्छ भन्ने हुँदैन । हामीमा आत्मबल र क्षमता छ भने प्रमुख पदमा पनि दाबी गर्न सकिन्छ । त्यसका लागि आजैबाट तयारी सुरु गर्नुको विकल्प छैन ।

अन्त्यमा यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न हौसला प्रदान गर्नेछौं ।