२०८१ बैशाख १४, शुक्रबार    

जनप्रतिनिधिको निगरानी गर्न गठबन्धनले अनुगमन समिति बनाउने

२०७९ जेठ ११, बुधबार १७:५३ बजे

सत्तारुढ गठबन्धनले मकवानपुरमा निर्वाचित भएका जनप्रतिनिधिको निगरानी गर्न अनुगमन समिति बनाउने भएको छ ।

स्थानीय तहको नतीजा सार्वजनिक भएलगत्तै कार्यपालिकालाई पूर्णता दिन जिल्लाभर नै आन्तरिक निर्वाचन हुने क्रममा रहेको छ । गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिलाई सफल बनाउने नाममा राजनीतिक नेतृत्वको संयोजकत्वमा दलका प्रतिनिधि संलग्न रहने समिति बनाउने गृहकार्यमा दलहरु जुटेका छन् ।

सत्तारुढ गठबन्धनले निर्वाचन अगाडि प्रत्येक स्थानीय तहको वडासम्म राजनीतिक संयन्त्र निर्माण गरेका थिए । सोही संयन्त्रलाई व्युझ्याउने तयारीमा दलहरु रहेका छन् । दलहरुले चुनाव अगाडि गरेको घोषणा पत्रलाई पूर्णरुपमा कार्यान्वन गर्न र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जन्मुखी बनाउने तयारी स्वरुप संयन्त्र निर्माण गर्न लागेको दावी गरिएको छ ।

सत्तारुढ गठबन्धनले हाल आआफ्नो स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई शुभकामना दिँदै गठबन्धनको सल्लाह, सुझाव र घोषणा पत्र अनुसार अगाडि बढ्न निर्देशन दिइरहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुवीच सहमति भइसकेको छ ।

संविधान अनुसार वैशाख १० गतेभित्रमा स्थानीय तहले आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार गठबन्धनको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न पनि संयन्त्रले सहयोग गर्ने बताइएको छ ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति तथा गठबन्धन संयोजक उत्सव इटेनीले गठबन्धनबाट निर्वाचित भएकाहरुलाई सहयोग गर्न र सफल बनाउन आफूहरुले रणनीति बनाएको र सोेही अनुसार अगाडि बढ्न समितिले सुझाउने बताए ।