२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडाले पहिलो पटक महिला मेयर पाउने अवसर छः बानियाँ

२०७९ बैशाख १९, सोमबार १४:१४ बजे

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताएका छन् ।

हेटौंडा–१८ मा भएको चुनावी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै बानियाँले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला नेतृत्व आउने अवसर रहेको बताएका हुन् । उनले गठबन्धनबाट मेयर पदकी उम्मेदवार यसअघि उपमेयर भई जनताको मन जितेकाले मेयरको नेतृत्व दिईएको बताउँदै पहिलो पटक महिला र जनजातिको छोरीले उपमहानगरपालिकामा जनताको सेवा गर्ने अवसर रहेकाले सबैलाई मतदानका लागि आग्रह गरे ।

एमालेबाट मेयरमा निर्वाचित हरिबहादुर महतलाई एमालेले नै असक्षम भनेर टिकट नदिएको तर काम गरेकी सशक्त र पढेलेखेकी नेतृ लामालाई गठबन्धनले अघि सारेको उनले बताए । उनले उपमेयर हुँदा निस्कलंक जनप्रतिनिधिको रुपमा चिनिएकी र लोकप्रिय भएर वडामा जितेर कामबाट आफुलाई चिनाएका राजेश बानियाँलाई उपमेयरको जिम्मेवारी दिएको बताए ।

गठबन्धनले निस्कलंक उम्मेदवार उठाएकाले हेटौंडामा गठबन्धनको विजय सुनिश्चित रहेको उनको दावी थियो । गठबन्धनका मेयरदेखि वडाका उम्मेदवारले भ्रष्टचार नगर्ने र जनताको काम मात्रै गर्ने बानियाँको प्रतिबद्धता थियो ।