२०८१ बैशाख २०, बिहीबार    

एमसीसीबारे आजै सत्तारुढ गठबन्धनले निर्णय लिने, देउवा–प्रचण्ड भेटमा सहमति भएन

२०७८ फाल्गुन ५, बिहीबार १०:२९ बजे

हेटौंडा/ एमसीसीको विषयमा सत्तारुढ गठबन्धनले आजै निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यस विषयमा बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नभएको बुझिएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सार्ने सहमित दुवै नेतावीच भएको छ ।

काँग्रेस सभापति समेत रहेका देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने धम्की दिएको छ । देउवाले त्यस विषयमा प्रतिक्रिया भने दिइसकेका छैनन् ।